गोरखा १५, असोज । गोरखामा कोरोना संक्रमणबाट मुस्लिम समुदायका कसैको मृत्यु हुन पुगेमा उनिहरुको धर्मालम्बीहरुको धार्मिक परम्परा अनुसार शव व्यवस्थापन गर्न दिइने भएको छ । कोभिड १९ को संक्रमण रोकथाम नियन्त्रण र न्युनिकरणका लागि गठित जिल्ला स्तरीय कमाण्डपोष्टको बैठकले कोभिडका कारण मृत्यु व्यक्तिको शव व्यवस्थापनको संसोधित कार्यबिधि अनुसार मृतकको धर्म परम्परा अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई परम्परागत चली आएको अन्येष्टी गर्ने स्थानमा नै शव व्यवस्थापन गर्न दिने निर्णय गरेको हो ।
बैठकले जिल्लामा लामो समयदेखि बन्द रहेको शैक्षिक गतिबिधिहरु सञ्चालनका लागि सरकारले जारी गरेको बिधार्थी सिकाई निर्देशिका २०७७ र बिधालय शिक्षाको आकस्मिक कार्ययोजना २०७७ बमोजिम आफ्नो स्थानीय तहको स्वास्थ्य सुरक्षा मापदण्ड सहितको कार्यबिधि निर्धारण गरि बैकल्पिक बिधि अपनाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउने निर्णय पनि गरेको जनाएको छ ।
त्यस्तै जिल्ला भित्र सार्वजनिक यातायात, व्यापार र व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा कार्यान्वयन नभएको देखिएकाले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण कार्यान्वयनका लागि सम्बन्धित व्यवसायीहरुलई निर्देशन दिने निर्र्णय बैठकले गरेको छ ।