Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

यस बर्षको दशैको टिकाको साईत बिहान १०:१९ बजे उत्तम


7.9K
Shares

यस बर्षको दशैको टिकाको साईत बिहान १०:१९ बजे उत्तम

काठमाण्डौ १५, असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो बर्षको वडा दशैकोटिकाको साईत बिहान १० :१९ बजे उत्तम भएको जनाएको छ । समितिले आज विजयादशमी लगायत दशैँका विभिन्न साइत समेत सार्वजनिक गरेको हो । हिन्दु नेपालीहरुको महान पर्ब आउदो कात्तिक १ गते शनिबारदेखि शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन् । घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११:४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा।डा।रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित मुहूर्त दिनुपर्दा ११:४६ बजेको साइत निस्किएको समितिले जनाएको छ । नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ । घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी ९ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागवत देवी स्तोत्रलगायत देवीको महिमागान गाइएका श्लोक वाचन एवं पाठ गरिन्छ ।

देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेषरूपमा भक्तजनको भीड लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण कारण धेरै जसो मन्दिरहरु खुल्ने छैनन् । समितिले कात्तिक २ गते आइतबार बिहान १०:५३ बजे सरकारी कार्यालयले पश्चिम फर्केर झण्डा फेर्ने साइत दिइएको छ । कात्तिक ५ गते बुधबार पचली भैरव यात्राको साइत जुरेको छ ।

कात्तिक ७ गते शुक्रबार फूलपाती छ । फूलपाती भित्र्याउन साइत आवश्यक नपर्ने समेत समितिले भनेको छ । विशेषगरी बेलुकी नवदुर्गा स्थापना गरी घटस्थापना गरिएको पूजा कोठा अथवा दशैँ घरमा फूलपाती भित्र्याइन्छ ।कात्तिक ७ गते शुक्रबार फूलपातीकै दिन बिहान ८:५६ बजे तुलजा भवानीको यात्रा चलाउने साइत छ । यात्रा सकेर बिहान १०:१४ बजे तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत निस्किएको समितिले जनाएको छ ।

कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व छ । यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन् । सोही दिन बेलुकी कालरात्रि मनाइन्छ । कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ । यस दिन राज्यका धेरै जसो कोतमा राज्यका तर्फबाट बलिसहित पूजा आराधना हुन्छ ।

दशैँको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ । यस दिन बिहान ९ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०:११ बजेको साइत शुभ रहेको समितिल जनाएको छ । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०:१९ बजेको साइत उत्तम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology