गोरखा ७, असोज । गोरखाको गण्डकी गाउँपालिकाले यहीँ असोज १० गतेसम्मका लागि गाँजा, भाङ, धतुरो, सेवन गर्नमा रोक लगाएको छ । कानुनले बर्जित गरेको कुरालाई समेत निश्चित समयका लागि भन्दै गाउँपालिकाले सूचना प्रकाशन गरेपछि अहिले सामाजिक सञ्जालमा त्यसको चर्को आलोचन सुरु भएको छ ।
गाउँपालिकाले प्रकाशन गरेको सूचनालाई आधार मान्ने हो भने गण्डकी गाउँपालिकाको भुम्लिचोक क्षेत्रमा सूचना प्रकाशन गर्नु अघि र सूचनामा उल्लेख गरिएको समय असोज १० गतेपछि खुल्लमखुल्ला गाँजा, भाङ धतुरो लगायतका मादक पर्दाथ सेवन गर्न पाईन्छ भन्ने अर्थ लाग्छ । सामान्य व्यक्तिले पनि सूचनालाई अध्ययन गर्दा भुम्लिचोक क्षेत्र गाँजा, भाङ र धतुरो सेवन गर्ने क्षेत्र रहेछ भन्ने बुझिन्छ ।
गाउँपालिका अध्यष अध्यक्ष होम बहादुर रानाद्वारा मंगलबार जारी विज्ञप्तीमा असोज १० गते गाउँ परिषद रहेको हुनाले ६ गतेदेखि १० गते सम्म ति बस्तुको सेवन नगर्न भनिएको छ ।
स्थानीयबासीले भने पालिकाले जारी गरेको बिज्ञप्तीले भुम्लिचोकबासीको बदनाम गरेको भन्दै गाउँपालिकाको चर्को आलोचना गरेका छन् । ‘यो सूचनाले भुम्लिचोकबासी अरुबेला सधै गाँजा, भाङ ,धतुरो, मदिरा सेवन गरेर बस्ने गरेको पुष्टी गर्छ, एक स्थानीयले भने, गाउँपालिकाले जारी गरेको सूचनाले भुम्लिचोकबासीको गाँजा भाङ धतुरो खाने क्षेत्रको रुपमा इंगित गर्न खोजको छ ।’
स्थानीयबासीले गाउँपालिकाले जारी गरेको सूचनामा भाषागत त्रुटी हो भने तत्काल सच्याउनु पर्ने माग गरेका छन् । गाँजाको सेवन, प्रयोग र ओसारप्रसारमा नेपालमा कडाइका साथ प्रतिबन्धित छ । गाँजालाई लागू औषधको मानिने हुदा नेपालमा यसमाथि कडा प्रतिबन्ध लगाइएको हो ।
लागू औषध अर्थात् नशा लगाउने, लठ्याउने पदार्थ ,गाँजा खाएपछि सेवनकर्तालाई मात लाग्छ । वि.सं २०३३ मा लागू औषध ऐन कार्यान्वयनमा आएपछि नेपालमा गाँजामा प्रतिबन्ध सूरु भएको पाइन्छ । त्यस अघि नेपालका विभिन्न भागहरुमा गाँजाको व्यवसायिक खेती नै हुने गरेको पाइन्छ ।