गोरखा २५, भदौ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले सम्पती कर सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ । पालिकाले पालिका भित्रका सवै वडाका जनप्रतिनिधि र कर्मचारीहरुलाई समेटेर अभिमुखीकरण प्रदान गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
‘पालिकाले सम्पती कर व्यवस्थापन कार्यबिधि २०७७ बनाएको छ, उहाँले भन्नुभयो, ‘त्यही कार्यबिधीलाई आधार बनाएर पालिका भित्र जग्गा, जमिन, घरको कर संकलन गर्ने मापदण्डका बारेमा सवै वडाका जनप्रतिनिति तथा कर्मचारीहरुलाई अभिमुखीकरण प्रदान गर्न थालिएको छ ।’ स्थानिय सरकार सञ्चालन ऐन ‘२०७५’ अनुसार सम्पतीकर उठाउने परिकल्पना गरे अनुसार गाउँपालिकाले कार्यबिधि बनाएर काम थालेको उहाँले बताउनुभयो ।
कार्यक्रम अन्र्तगत आज वडा नम्बर ७ र ८ का जनप्रतिनिधी र कर्मचारीलाई अभिमुखीकरण प्रदान गरिएको अध्यक्ष भट्टको भनाई छ । तालिममा कर्मचारी र जनप्रतिनिधिहरुलाई सम्पतीको कर कसरी उठाउने त्यसको मूल्याङक कसरी गर्ने भन्ने बारेमा जानकारी प्रदान गरिएको वडा नम्बर ७ का वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो । अभिमुखीकरण तालिममा गाउँपालिकाका लेख अधिकृत कल्पना रेग्मी पौडेलले सहजीकरण गर्नुभएको उहाँको भनाई छ ।
गाउँपालिकाले यसअघि वडा नम्बर ५ र ६ मा यस अभिमुखीकरण तालिम सम्पन्न गरिसकेको छ भने अब वडा नम्बर १ २, ३ र ४ मा तालिम सञ्चालन गर्न बाँकी रहेको जनाएको छ ।