गोरखा २२, भदौ । गोरखाको जिल्लाको सवैभन्दा पुरानो अस्पताल आँपपिपल अस्पतालमा आकस्मिक शल्यक्रिया सेवा पुनः शुरु भएको छ । बिशेषज्ञ चिकित्सकको अभावमा बन्द भएका सवै प्रकारका आकस्मिक शल्यक्रिया सेवा सोमबारदेखि पुनः शुरु भएको अस्पतालका प्रशासकिय अधिकृत बाबुराम गिरीले जानकारी दिनुभयो ।
‘गएको करिब ११ महिनादेखि बिशेषज्ञ चिकित्सक नहुदा सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई अस्पतालबाट बाहिर रिफर गर्नुपर्ने बाध्यता रहदै आएको थियो, उहाँले भन्नुभयो, अब बिरामीहरुले यहीँ नै सेवा पाउनु हुने भएको छ ।’ उहाँले अस्पतालमा आकस्मिक रुपमा आईपर्ने एपेन्डिसाइटिसका अप्रेसन, सिएस, लगायतका अन्य अप्रेसन सेवा शुरु भएकोे बताउनुभयो ।
अस्पतालमा बिशेषज्ञ चिकित्सक आएसंगै यस्ता खालका सेवा दिन शुरु गरिएको प्रशासकिय अधिकृत गिरीको भनाई छ । गएको असोजमा अस्पतालमा कार्यरत बिशेषज्ञ चिकित्सक शितिजचन्द्र पौडेल गएदेखि नै अस्पतालमा सवै खालका आकस्मिक अप्रेसन सेवा रोकिएको थियो । सेवा सुरु भएपछि कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सामान्य शल्यक्रियाका लागि पुगेका बिरामीहरुले रिफर गर्नुपर्ने बाध्यता हटेको उहाँले बताउनुभयो ।