गोरखा २०, भदौ । गोरखामा पहिलो पटक कोरोना संक्रमितलाई होम आइसोलसनमा राखिएको छ । शुक्रबार कोरोना पुष्टी भएका गोरखा नगरपालिका–६ का २ जना कोरोना संक्रमित होम आइसोलेसनमा बसेको गोरखा नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत निश्चल अर्यालले जानकारी दिनुभयो ।
संक्रमणको पुष्टी भएका वडा नम्बर ६ की ३५ बर्षकी महिला र ४ बर्षकी बालिका शुक्रबार नै होम आइसोलेसनमा बसेका हुन् । कोरोना भाइरस (कोभिड १९) को रोकथाम नियन्त्रण र न्युनीकरणका लागि गठित जिल्ला स्तरीय कमाण्डपोष्टको शुक्रबार बसेको बैठकले मापदण्ड पुरा गरेर कोरोना संक्रमितहरु होम आइसोलेसनमा बस्न पाउने निर्णय गरेको थियो ।