गोरखा १८ भदौ ।
शहिद लखन गाउँपालिकाले शिक्षकरुको लागि अनलाईन तालिम सुरु गरेको छ । कोरोना महामारीको कारण तत्काल विद्यालय खुल्ने सम्भावना कम रहेको भन्दै शिक्षकहरुलाई बैकल्पिक सिकाई सहजिकरण सहजताको लागि अनलाईन तालिम सुरु गरिएको हो । १० दिनसम्म सञ्चालन हुने तालिम शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बावु थापाले उदघाटन गर्नुभयो । उदघाटन कार्यक्रममा बोल्दै थापाले कोरोना महामारीको कारण हुने शैक्षिक क्षतिको न्युनीकरणको प्रयास स्वरुप तालिमको आयोजना गरिएको र आगामी दिनमा थप तालिम कार्यक्रम सञ्चालन गरिने जानकारी गराउनुभयो ।
प्रविधिमैत्री शिक्षक समाज गोरखासँगको सहकार्यमा सुरु गरिएको तालिममा तालिम सहजिकरणको लागि सहजकर्ता प्रविधिमैत्री शिक्षक समाजले उपलब्ध गराएको छ । पालिकाले आयोजना गरेको तालिमले शिक्षकलाई कोरोना महामारीको समयमा र महामारी पछि पनि शिक्षण सिकाई कार्यमा सहजता ल्याउने प्रविधिमैत्री शिक्षक समाज, गण्डकी प्रदेशका प्रदेश प्राविधक तथा भगवती हिमालय मा.वि का शिक्षक अनुप बावु श्रेष्ठले बताउनुभयो ।
तालिममा शहिद लखन गाउँपालिका भित्रका २७५ जना शिक्षकहरुको सहभागिता रहेको छ । साविक स्रोतकेन्द्रको आधारमा विहान र बेलुका २ सिफ्टमा तालिम सञ्चालन गरिएको छ । साविक मनकामना स्रोत केन्द्र अन्तर्गत बक्राङ्ग, मनकामना र ताक्लुङ्गका शिक्षकहरुलाई बिहान र साविक नाम्जुङ्ग स्रोत केन्द्र अन्तर्गत घैरुङ्ग, नाम्जुङ्ग र बुंकोटका शिक्षकहरुलाई बेलुकिको सत्रमा तालिम सञ्चालन गरिएको शहिद लखन गा पा का शिक्षा प्रमुख राजेन्द्र खनालले जानकारी दिनुभयो