काठमाण्डौ ४, भदौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि आज (बिहिबार) देखि लगाइएको निषेधाज्ञाका कारण उपत्यका बिहानैदेखि सुनसान बनेको छ । बिहान ४ बजेदेखि उठ्ने काठमाण्डौ उपत्यकामा बिहानैदेखि मानिसहरु सडक बाहिर देखिएका छैनन भने यातायातका साधन समेत पूर्ण रुपमा ठप्प बनेका छन् । उपत्यका ३ वटै स्थानीय प्रसासन (काठमाण्डौ, ललितपुर, भक्तपुर ) ले गएराती १२ बजेदेखि भदौं १० गतेसम्मका लागि उपत्यकामा निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञाको पूर्ण कार्यान्वयनका लागि उपत्यकामा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । निधेषाज्ञाका कारण मर्निङवकमा निस्कनेहरुको संख्या समेत अत्यन्तै न्युन पाइएको छ । तर प्रसासनले सवै नगारिकहरुलाई मर्निङवर्कमा समेत ननिस्कन भनेको छ । बिभिन्न ठाउँमा प्रहरीले निषेधाज्ञाको पालना गर्न र घर बाहिर ननिस्कन माइकिङ समेत गरिरहेको छ ।
तीनबटै जिल्लाका स्थानीय प्रशासनले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कसैलाई पनि घरबाट बाहिर ननिस्कन अपिल गरेका छन्। अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पनि निषेध गरिएको छ। अत्यावश्यक सामग्री लगायतका मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश गर्न, जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न पनि निषेध गरिएको छ।
त्यस्तै फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन गर्न समेत बन्देज लगाइएको छ। निषेधाज्ञाको अवधिमा होटल, रेष्टुराँ सञ्चालन गर्न पाइने छैन।