नवलपरासी, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले जसरी पनि राजीनामा दिने बताएका छन् ।
शनिबार नवलपरासीमा पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले सभामुख पदका लागि पार्टीले उम्मेदवारी दिने निर्णय गरिसकेको उल्लेख गर्दै उपसभामुखले राजीनामा दिएपछि मात्रै पार्टीले सभामुखमा उम्मेदवारी दिन संविधानअनुसार मिल्ने बताए ।
सभामुख चयनमा ढिलाइ भएको स्वीकार गर्दै प्रवक्ता श्रेष्ठले भने, ‘सभामुख चयन अलि ढिलो भएको भन्ने कुरा सत्य हो। तर पनि हामी छिटै निष्कर्षमा पुर्याउँछौं,’ श्रेष्ठले भने, ‘माघ ६ गते संसद बैठक बोलाइएको छ। सूचना टाँसेर स्थगित गर्नु हुँदैन।’
उपसभामुखले राजीनामा दिने विश्वास पार्टीको रहेको श्रेष्ठले बताए । ‘उहाँले राजीनामा दिनुहुन्छ भन्ने विश्वास छ। उहाँ पार्टीबाट निर्वा्चित भएरै उपसभामुख हुनुभएको हो। यसबारे थप चर्चा गर्नु जरूरी छैन,’ उनले भने।
उनले ‘पार्टीमा पूर्वएमाले र पूर्वमाओवादी इतिहास भइसक्यो । इतिहास लेख्दा मात्रै पूर्वएमाले र पूर्वमाओवादी लेख्छौं अब,’ उनले भने, ‘को व्यक्तिलाई बनाउने भन्ने छलफल मात्रै हो।’
रास्ट्रीयसभाको उमेदवार समेत रहेको प्रवक्ता श्रेष्ठ निर्वाचनको लागि मत माग्न गण्डकी प्रदेशको जिल्ला दौडाहमा छन् ।