गोरखा २७, साउन । गण्डकी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको विषयलाई लिएर स्थगित भएको छैटौ गाउँसभा तत्काल बोलाउन गाउँ कार्यपालिका सदस्यहरुले माग गरेका छन् । नेकपा निकट गाउँ कार्यपालिका सदस्यहरुले गाउँपालिका अध्यक्ष होमबहादुर रानामगरलाई ज्ञापन पत्र बुझाउदै गाउँसभाको बैठक बोलाउन माग गरेका हुन् । कार्यपालिका २५ जना सदस्यहरु मध्ये १८ जनाले हस्ताक्षर नै गरेर गाउँसभाको बैठक बोलाउन माग गरेका छन् । प्रशासनिक भवनका लागि विनियोजन गरिएको बजेट सञ्चित कोषमा राखेर पछिल्लो सहमति कार्यान्वयन गर्ने गरि काम गर्न ज्ञापन पत्रमा भनिएको छ ।
प्राकृतिक प्रकोपमा परेका गाउँपालिका भित्रका पिडित समुदायहरुहरुको उद्धारमा समेत पालिकाले काम गर्न नसकेको अवस्थामा प्रशासकिय अधिकृत र गाउँपालिका प्रमुखलाई जिम्मेवार भएर अघि बढ्न ज्ञापन पत्रमा बहुमत कार्यपालिका सदस्यहरुले सुझाव दिइएका छन । धेरै भन्दा धेरै जनतालाई सुविधा हुने गरी काम गर्न जनप्रतिनिधिहरु लाग्नुपर्ने समयमा गाउँपालिकाको सभा नै नगर्नु जनविरोधी क्रियाकलाप भएको ज्ञापन पत्रमा उल्लेख छ । गाउँसभा नहुँदा विकासमा असर पर्ने भएकाले आफूहरुले हस्ताक्षर सहित पत्र दिएको वडा नं. ७ का वडा अध्यक्ष तुलसी रेग्मीले बताउनुभयो ।
गाउँपालिकाको केन्द्र नै निर्धारण भई नसकेको अबस्थामा गाउँपालिकाले २ करोड ५० लाख रुपैया बजेट बिनियोजन गरेकाले भवन निर्माण गर्ने वा नगर्ने भन्ने बिबाद हुदा गाउँसभाको बैठक हुन नसकेको हो । ‘पहिले केन्द्रको भवन टुङग्याउन त्यसपछि मात्र भवन निर्माणको काम अघि बढाऔं भन्ने नेकपा निकट गाउँ कार्यपालिका सदस्यहरुको माग हो, एक सदस्यले भन्नुभयो, स्थानको टुङगो नलागी भवन बनाउदा अन्तै स्थान निर्धारण भए बजेट खेर जान्छ भनेर हामीले यस्तो अडान लिएका हौ ।’
गाउँसभाको बैठक नहुदा बिपत प्रतिकार्य काम केही पनि हुनसकेकाले बिपतमा परेको जनताको समस्यालाई सम्बोधन गर्ने गरि काम गर्न बैठकको माग गरेको उहाँको भनाई छ । गण्डकी गाउँपालिकाको हाल वडा नम्बर ६ को भुम्लिचोकमा रहेका गाउँपालिकाको प्रसासनिक केन्द्र रहेको छ ।
नेकपा निकट गाउँसभाका सदस्यले वडा नम्बर ६ को बनटारलाई गाउँपालिकाको केन्द्र निर्धारण हुनुपर्ने माग गर्दै आएको छ भने नेपाली काग्रेस निकट गाउँसभाका सदस्यहरुले हाल अस्थायी कार्यालय रहेको स्थानमा नै गाउँपालिकाको केन्द्र हुनुपर्ने माग गर्दै आएका छन् । यातायातको सुबिधा, जनताका लागि प्रसासनिक सुगमता र सवै वडालाई पायक पर्ने ठाउँ रहेकाले गाउँपालिकाको केन्द्र बनटारमा हुनुपर्ने नेकपाको दावी छ ।
गाउँपालिका अध्यक्ष भन्नुहुन्छ, ‘गाउसभाको बैठकको छिट्टै टुङगो लगाउछौ’
गाउँपालिका अध्यक्षले रानामगरले पालिका भित्र बिपतमा परेकाहरुको तथ्याङका संकलनको काम सकेर गाउँसभाको बैठक बोलाउने बताउनु भएको छ । ‘पहिला बिपतको सवै कुराहरु भ्याउ, पहिलो प्राथामिकता क्षति भएका घर, गोठ, बारी, अन्नबालीको बिबरण पठाउनुपर्नेछ, नागरिक सवालसंगको कुराकानीमा उहाँले भन्नुभयो, बिपत व्यवस्थापनको काम सकेपछि कार्यपालिकाको बैठक बसेर गाउँसभाको बैठकको टुङगो लाग्छ ।’ अध्यक्ष रानामगरले गाउँपालिकाको केन्द्र बिबादले सवै बिषय अड्किएको दावी गर्दै बिबादलाई सहमतीमा लगेर टुङग्याउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
उहाँले बजेट समयमा नआएपनि प्रसासनिक समस्याहरु भने खासै नरहेको बताउनुभयो । ‘साउन महिनामा खासै चेक काटिदैन, उहाँले भन्नुभयो, असारको १० गते बजेट सार्वजनिक गर्ने नीति भएपनि कार्यान्वयन दशैपछि मात्रै सुरु हुने हो तर हामी भदौं महिना भित्रका सवै कुरा सिध्याउछौ ।’ उहाँले भन्नुभयो ।