दीपक श्रेष्ठ
गोरखा २६, साउन । गोरखा नगरपालिका–११ स्थित झोलुंगे फाँटमा रहेको करिब ४ हजार रोपनी खेतमा रोपिएको धान पानी लगाउन नपाउदा अहिले बिस्तारै पहेलो हुदै गएको छ । यो बर्ष मनसुन छिटो भित्रिएकाले राम्रो बर्षा भएपछि असारको दोस्रो हप्तादेखि नै रोपाई सुरु गरेका यहाँका किसानले रोपाई सक्दै गर्दा यो बर्ष राम्रो धान फलाउने सपना देखेका थिए । तर रोपाई सकियो, धानको बेर्ना बिस्तारै हरियो हुदै गएको १ हप्ता पनि नबित्दै झेलुंगे फाँटका करिब ४ सय किसान अहिले खेतमा पानी लगाउन नपाएपछि धानको बेर्ना सुक्न थालेका भन्दै चिन्तित भएका छन् ।
दरौदी नदीमा यहीँ साउन ४ गते आएकोे भीषण बाढीले वडा नम्बर १० स्थित ठुटी बजार नजिकै झोलुङ्गे फाँटमा सिंचाईका लागि बनाइएको नहर नै बगाएपछि किसान मर्कामा परेका हुन् । ‘बाढीले नहर पुरै भत्काइदियो, दरौंदी नदी अहिले नहरभन्दा करिब ६ मिटर तल धस्सिएको छ, स्थानीय कृषक डिलबहादुर भण्डारीले भन्नुभयो, अब अहिले यहीँ नहरमा पानी सञ्चालन गर्न सक्ने अबस्था नै छैन ।’ हिँउद बर्खामा बाह्रै महिना जथाभावी नहरको छेउछाउमा गिटी बालुवा निकाल्ने गरिएकाले अहिले समस्या आएको उहाँले बताउनुहुन्छ ।
अबैध रुपमा रातको समयमा दरौंदी नदीबाट निकालेर सडकमा राखिएका ढुङगा सडकमा
रातको समयमा मौका छोपेर नदीको किनारका ढुङगा, गिटी र बालुवा अहिले पनि निकाल्ने गरेको स्थानीय कृषक भण्डारीको भनाई छ । ‘अहिले पनि राती ११ बजेदेखि ३÷४ बजेसम्म डोजेर नै प्रयोग गरेर रातको समयमा ढुङगा, गिटी झिक्ने गरेका छन्, उहाँले भन्नुभयो, रातैभरी नदी किनारामा ट्याक्टर, टिप्पर र डोजर चल्ने गरेकाले छेउछाउका बासिन्दाले राम्रो संग सुत्न समेत पाउदैनन् ।’ रातभरी सुत्न नपाएपछि टिप्पर, ट्याक्टर चालकहरु र स्थानीय बिच पटकपटक बिबाद समेत हुने गरेको भण्डारीले जानकारी दिनुभयो ।
नहर भत्काएकाले खेतमा पानी लगाउन नपाएको ३ हप्ता भइसकेको उहाँको भनाई छ । ‘अब एकहप्ता जति पानी नपर्ने हो भने खेतमा रोपिएको धान बिउ पुरै सुक्ने अबस्थामा छ, भण्डारीले भन्नुभयो, यो बर्ष त यस्तो समस्या भयो भने अब जथाभावी उत्खनन् नरोक्ने हो भने अर्को बर्षबाट किनार आसपासमा रहेका खेत रोपौैैंला भनेर आश नगर्दा पनि हुन्छ ।’ वडा नम्बर १० र ११ को हिटीढापदेखि नन्दकेसरीसम्मको क्षेत्रमा अबैध उत्खनन् हुदै आएको स्थानीयको भनाई छ ।
किसानहरुको प्रयासले मात्र अहिले नदीले बगाएको कुुलो तत्काल चलाउन सक्ने अबस्था नरहेको अर्का किसान सुरजमान कुमालले भनाई छ । ‘२ रोपनी आफ्नो खेत र बाँकी ६/८ रोपनी अधियामा धान रोपेको छु, यत्रो फाँटमा पानी छैन, खेतमा पानी लाने गरेको नहर भन्दा ५/६ मिटर तल नदी बग्न थाल्यो, उहाँले भन्नुभयो, सरकारी स्तरबाट पहल गरि अहिले रहेको बाँध भन्दा करिब १ किलोमिटर माथिबाट बाँध बाधेर ल्याउन सकेमात्र अब फाँटमा पानी पु¥याउन सकिएला ।’
अबैध रुपमा ढुङगा गिटी र बालुव निकालिएको स्थान, जहाँ नहर भन्दा मुनि खोला पुगेको छ
उहाँले बाँधको मुनी र नहर क्षेत्रका आसपासबाट बालुवा, ढुङगा, गिटी निकाल्ने गरेकाले यस्तो समस्या आएको बताउनुभयो । ‘यहाँ रातैभरी बालुवा ढुङगा गिटी निकाल्छन्, अनि नदीमा बाढी आएपछि बाँध मुनी खोल्दै गयो अहिले बाँध पनि बगायो, नदी पनि तलतल गयो, अहिले नदी तल भयो कुलो माथि भयो, पानी नहरमा ल्याउन सक्ने अबस्था नै छैन ।’ कुमालले भन्नुभयो । अबैध उत्खननको बारेमा स्थानीयले जानकारी पाएपनि रोक्ने सक्ने अबस्था नरहेको उनिहरुको भनाई छ ।
नहर वरपर पुस माघ महिनामा धेरै गिटी बालुुवा निकालेका कारण अहिले नहरमा ठूलो क्षति पुगेको र फाँट सुख्खा हुन पुगेको स्थानीय उमेश बाँनियाको बताउनुहुन्छ । ‘अहिले दरौंदीमा पानी बढेको छ, पहिलो जति धेरै त निकाल्न सक्दैनन, उहाँले भन्नुभयो,’ झन नहर बाढीले बगाएपछि त्यही भत्किएको नहर हुदै डोजर खोलामा पु¥याउन सजिलो भएछ ।’ गिटी बालुवासगै बर्षामा बाढीको क्षति रोकथामका लागि लगाइएका जाली र जालीमा भरिएका ढुङगा समेत चोरी हुन थालेको स्थानीयबासी बानियाँले जानकारी दिनुभयो ।
अबैध उत्खननले नदी धस्सिएको स्थान देखाउदै स्थानीय पिडित किसानहरु
स्थानीयबासीले पटक पटक गोरखा नगरपालिका र जिल्ला प्रसासनसनलाई अबैध उत्खनन्को जानकारी गराएपनि सुनेनसुने जस्तो गर्ने गरेको बताएका छन् । ‘अबैध उत्खनन् बढेको बढै, खोलाको किनारमा तस्करहरुले रजाई गरिरहेका छन् एक स्थानीयले भने, न त नगरपालिका बोल्छ न प्रहरी र प्रसासन, यसले उनिहरुकै मिलेमतो हो कि भन्ने आंशका समेत हामीलाई लाग्छ ।’
नहरमा बाढीले क्षति पु¥याएपछि पुरै फाँट सुख्खा हुने अबस्था आएकाले अब बैकल्पिक सिंचाईको व्यवस्था गर्नुपर्ने आबयश्कता रहेको गोरखा नगरपालिका वडानम्बर ११ का वडाध्यक्ष रामबहादुर ढकालको भनाई छ ।‘ समयमा अबैध उत्खनन् रोक्न नसक्दा अहिले यहाँका ४ सय किसान मर्कामा परेका छन् , उहाँले भन्नुभयो, सयौ रोपनी क्षेत्रफलको खेतमा लगाइएको धान सुकेर जाने अबस्था आएको छ, अब बैकल्पिक ढंगबाट कसरी फाँटमा पानी पु¥याउन सकिन्छ भने सोचिरहेका छौ ।’
उहाँले सम्बन्धित कार्यालयका प्रतिनिधिलाई बोलाएर अबैध उत्खनन र नहरमा पु¥याएको क्षतिको अबस्थाका बारेमा जानकारी समेत गराई सकिएको बताउनुभयो । ‘शुक्रबार राती नदी किनारमा थुपारिएको गिटी बालुवा शनिबार बिहान आएर हेर्दा सडक छेउमा ल्याएर थुपारिएको अबस्था छ, वडाध्यक्ष ढकालले भन्नुभयो, जथाभावी हुदै आएको नदी दोहन रोक्नका लागि जिल्ला प्रसासन कार्यालयले ध्यान पु¥याउनु पर्छ भनेर पटक–पटक जानकारी गराएको छु ।’
यता गोरखा नगरपालिका गोरखाकी अनुगमन समितिकी संयोजक समेत रहनु भएकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले यतिबेला नगरपालिकाले कसैलाई पनि उत्खनन्को अनुमती नदिएको भन्दै अबैध उत्खनन् बारे जानकारी नआएको बताउनुभयो । ‘बर्खाको समयमा नदीजन्य पर्दाथ उत्खनन्को अनुमती दिन समेत पाइदैन र दिइएको पनि छैन, उहाँले भन्नुभयो, बास्तबिकता के रहेछ हामी बुझ्छौ ।’
दरौदी नदी किनारामा जन्य पर्दाथको अबैध उत्खनन्को सूचना प्राप्त भएकाले त्यसको नियन्त्रणका लागि प्रहरी परिचालन गर्ने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताउनुभयो । ‘हामीलाई जानकारी आएको छ, उहाँले भन्नुभयो, यर्थात के हो त्यो बुझेर आबश्यक प्रक्रिया चाल्छौ ।’ अबैध उत्खनन्बाट पिडित बनेका किसानहरुले भने आफुहरुको मुख्य समस्या खेतमा कसरी पानी पु¥याउने भन्ने रहेको भन्दै आबश्यक पहल गरिदिन माग गरेका छन् ।
पटक पटक दरौदी नदीको आउने बाढीका कारण झोलुगें फाँटका कृषकको दुःख दरौदीको बाढीले बगाउने गरेकाले स्थायी रुपमा बाढी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्नुपर्ने र पहरा खोपेर नहर निर्माण गर्नुपर्ने किसानहरुको भनाई छ । उनिहरुले खेत वरपरका क्षेत्रमा अबैध रुपमा हुने गरेको नदी जन्य पदार्थको उत्खनन् रोक्न सकेमात्र पनि किसानहरुले राहात पाउने बताएका छन् । उनिहरुले नगरपालिकाले उत्खनन्का लागि अनुमति दिदा समेत नहरलाई असर नपर्ने गरि दिन समेत माग गरेका छन् ।