राजेन्द्र न्यौपाने
गोरखा, १६ साउन । राष्ट्रिय बिभूति अमरसिंह थापाको २०४ औं स्मृति दिवसको अवसरमा आज गोरखाको सिरानचोक गाउँपालिका र डडेल्धुराको अमरगढी नगरपालिकाले सार्वजानिक विदा दिएका छन् । विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाउन विदा दिइएको अमरगढी नगरपालिकाका मेयर विशेश्वर प्रसाद ओझा र सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।
गोरखाको सिरानचोक गाउँपालिकामा जन्मेका थापाको स्मृति दिवशमा गाउँपालिकाले कार्यापालिका वैठकबाट निर्णय गरेर पहिलो पटक सार्वजानिक विदा दिएको हो । थापाको जन्म दिनको अवसरमा आज शुक्रबार गाउँपालिकाले स्मृति कार्यक्रम समेत गर्न लागेको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।
नेपाल राज्य एकीकरण नायक पृथ्वीनारायण शाहका सेनाका सेनापति भएर अमरसिँह थापाले सिरानचोक, लम्जुङ , पाल्पा लगायतका बाइसीचौबिसी राज्य एकीकरण गरेको इतिहासमा पढ्न पाईन्छ । अमरगढी नगरपालिकाको नामाकरण राजा रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा संञ्चालित नेपाल एकिकरणको सिलसिलामा वि.सं. १८४४ भाद्र ३१ गते आइतबारका दिन सेती नदीको नारीदाङमा गोर्खाली सैन्य सित डोटेली सैन्य पराजित भइसकेपछि, डोटी राज्य पनि विशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो ।
त्यस भुभागको सुशासनलाई सुदृढ र विस्तार गर्नका लागि श्री अमर सिंह थापा यस क्षेत्रका प्रथम प्रशासकका रुपमा नियुक्त भएर गए । उनले त्यस क्षेत्रको संरक्षण तथा महाकालि पारि पनि विजय अभियानलाई जारी राख्न डडेल्धुरा जिल्लाको सदरमुकाम खलङ्गाको टाकुरामा अमरसिंह थापाद्वारा निमार्ण गरिएको विशाल ढुङ्गे किल्लालाई जीवन्त राख्न तिनै ऐतिहासिक पुरुष अमरसिंह थापाको नामबाट अमरगढी नगरपालिकाको नामाकरण हुन गएको थियो । यसकारण डडेल्धुराले अमरसिंह थापालाई सम्झने गरेको छ ।
थापाको जन्म वि सं. १८०८ मा जनैपूर्णिमाको दिनमा र देहान्त १८७३ मा साउन १६ गते भएको थियो । गोरखाको सिरान्चोक गाउँपालिकाले थापाको स्मृतिमा वडा नं. ६ स्थित डाडेदानी गाउँमा अमरसिंह स्मृति पार्क निर्माणका लागि जग्गा व्यवस्थापन गरेर काम अघि बढाएको छ ।