गोरखा २४, असार । साधना लघुवित्तले निष्काशन गरेको आईपिओले रेकर्ड ब्रेक गरेको छ । कम्पनीको आईपिओमा ४ लाख ५५ हजार ७ सय २७ जनाले आवेदन दिएका छन् । आईपिओमा यति धेरै लगानीकर्ताको आवेदन परेको यो नै पहिलो पटक हो । वित्तीय संस्थाका अनुसार आवेदन दिने अन्तिम दिन साँझ ५ बजेसम्ममा ४ लाख ५५ हजार ७ सय २७ जनाले १ करोड ११ लाख ८७ हजार ९ सय ६० कित्ता आवेदन दिएका छन् । यो माग गरिएको भन्दा १६.९१ गुणा बढी हो ।
कम्पनीको आईपिओ गोलाप्रथावाट ६६ हजार १ सय ५२ जनाले मात्र पाउने भएकाले आवेदन दिएका मध्ये ३ लाख ८९ हजार बढी आवेदक हात खाली हुने छन् । कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैंया बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपिओ निष्काशन गरेको हो । जसमध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ ।
बाँकी रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आईपिओको बिक्री पश्चात् कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्नेछ । कम्पनीले आईपिओ निष्काशनपछि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने योजना बनाएको छ ।