गोरखा ३०, जेठ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोलामा ९० हजार नजिक पुगेको छ । सुनको भन्सारदर बढाएसँगै सुनको मूल्य बढ्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइबार बजार खुल्दा प्रतितोला ८७ हजार ४ सय रुपैयाँ कायम रहेको सुनको मूल्य बिहीबार बढेर तोलामा ८९ हजार ६ सय रुपैयाँ पुगेको छ ।
बुधबार ८८ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य एकै दिन तोलाको एक हजार रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले सुनको मूल्य बढेर प्रतितोला ८९ हजार ६ सय रुपैयाँ पुगेको बताउनुभयो। अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको उहाँको भनाइ छ ।
सरकारले भन्सार दर बढाएयता पहिलोपटक गत आइतबारदेखि सुनचाँदी बजार खुलेको छ । बजेटमा भन्सार दर बढेको र अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले बजार खुल्दा सुनको मूल्य तोलामा १० हजार ४०० रुपैयाँ बढेको उहाँको भनाइ छ । बजेटमा प्रति दशग्राम २ हजार रुपैयाँ बढाएर ८ हजार ५०० पुगेको छ । भन्सार बृद्धिले सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ महँगो पर्न गएको व्यवसायीको भनाई छ ।
बजार खुला भएपनि सुनको कारोबार बढ्न सकेको छैन । अतिआवश्यक बाहेक सुनको कारोबार नभएको व्यवसायीको भनाइ छ । लकडाउनकै बीचमा एक दिन खुल्दा सुनको मूल्य ९ हजार रुपैयाँ बढेर तोलाको ८६ हजार ८० रुपैयाँ पुगेको थियो । सुनको मूल्य लकडाउनअघि चैत १० मा प्रतितोला ७७ हजार रुपैयाँ थियो ।