गोरखा २६, जेठ । गोरखा अस्पतालमा भेन्टिलेटर सहितको आईसियू कक्ष स्थापना गरिएको छ । संघिय सरकारको सहयोगमा गण्डकी प्रदेशले सरकारले उपलब्ध गराएको रकमबाट अस्पतालमा आईसियू कक्ष स्थापना गरिएको हो । जिल्लामा नै पहिला पटक स्थापना गरिएको उत्त सेवाका लागि प्रदेश सरकारले आर्थिक सहयोग उपलब्ध गराएको हो ।
‘प्रदेश सरकारबाट प्राप्त १ करोड रुपैयाँले अस्पताल भित्र २ वेडको आईसियु कक्ष स्थापना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो । ‘अब कुनै पनि जटिल प्रकारका बिरामीलाई राखेर उपचार गर्न सम्भव भयो’ उहाँले भन्नुभयो । प्रदेश सरकारले पहिलो पटक गोरखा र बागलुङलाई आईसियु सेवा स्थापना गर्न बजेट विनियोजन गरेको हो । अस्पतालमा स्थापना गरिएको आईसियुका लागि आवश्यक सबै सामान जडान भई सकेको र अब जडिल प्रकारको बिरामी आएको खण्डमा पनि उपचार दिन सकिने गोरखा अस्पतालले जनाएको छ ।
०७६ चैत्र महिनामा नै प्रदेश सरकारबाट प्राप्त उत्त रकम अस्पतालको खातासम्म आउन समय लागेकोले स्थापनामा ढिलाई भएको अस्पताल प्रशासनले जनाएको छ । प्रदेश सरकारले कोरोना संक्रमितको उपचारको लागि सहज होस भनेर कक्ष स्थापनाको लागि रकम उपलब्ध गराएको थियो । गोरखा अस्पताल ५० शैयाको हो ।