गोरखा २८, बैशाख – गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर २ पाङखोलाका एक बालकलाई त्रिशुली नदीले बगाएर बेपत्ता बनाएको छ । लकडाउनका बेला माछा मार्ने क्रममा आज दिउँसो करिब १ बजे स्थानीयबासी रुद्रबहादुर चेपाङका छोरा बर्ष १४ का बिकास चेपाङलाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिनुभयो ।
बेपत्ता बालकको अहिले प्रहरी र स्थानीयबासीले खोजी कार्य गरिरहेको वडा नम्बर १ वडा सदस्य मिन बहादुर सुनारले जानकारी दिनुभयो । बुबासंगै माछा मार्ने क्रममा चेपाङलाई एक्कासी नदीले बगाएको सुनारले बताउनुभयो । यता गोरखाको शहिद गाउँपालिका वडा नम्बर ३ भुवनीटार स्थित मस्र्याङ्दी नदीले बगाएको एक युवक बेपत्ता भएका छन् ।
बाग्लुङ जिल्लाको बरेनडाँडा गाउँपालिका–१ घर भएका १९ बर्षिय कृष्णबहादुर पुनलाई आज दिउँसो नदीले बगाएको हो । नदीले बगाएर बेपत्ता बनाएका दुवै जनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।