काठमाडौं, २१ कात्तिक । भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गर्नुभएको छ । उहाँले गएराति सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी दिनुभयो हो ।
शमीले सामाजिक सञ्जाल एक्समा ‘सेतो जर्सीलाई बिदाइ गर्दैछु, तर यससँग जोडिएका सम्झनालाई कहिल्यै बिर्सने छैन’ भन्दै आफ्नो सन्यासको घोषणा गरेका हुन् ।
‘पहिलोपटक भारतको टेस्ट जर्सी लगाउँदा देशका लागि केही गर्ने एउटा सपना मात्रै थियो । त्यसपछि प्रत्येक विकेट, संघर्ष, चोट र चोटबाट फर्किने हरेक प्रयासले मलाई केही न केही सिकायो,’ उहाँले लेख्नुभएको हो ।
टेस्ट क्रिकेट आफ्नो लागि खेलको एउटा स्वरूप मात्र नभई जीवनकै विशेष हिस्सा रहेको उल्लेख गर्दै उहाँले अनगिन्ती सुन्दर सम्झनासहित भारी मनले सन्यासको निर्णय लिएको बताउनुभएको छ ।
उहाँले आफ्नो क्रिकेट यात्रामा साथ दिने सहकर्मी खेलाडी, प्रशिक्षक, परिवारका सदस्य तथा सुखदुःखका हरेक क्षणमा साथ र विश्वास कायम राख्ने भारतीय क्रिकेट समर्थकप्रति आभार व्यक्त गर्नुभएको हो ।
त्यस्तै, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई र क्रिकेट एसोसिएसन अफ बंगाललाई पनि उहाँले धन्यवाद दिनुभएको छ । ती संस्थाले आफ्नो प्रतिभामाथि विश्वास गर्दै अघि बढ्ने अवसर दिएको उहाँको भनाइ छ ।
३६ वर्षीय शमीले भारतका लागि ६४ टेस्ट खेल्दै २२९ विकेट लिनुभएको छ । उहाँ सन् २०२५ को च्याम्पियन्स ट्रफीपछि भारतीय राष्ट्रिय टोलीबाट बाहिरिनुभएको हो ।
टेस्ट क्रिकेटबाट सन्यास लिए पनि शमीले सीमित ओभरको क्रिकेट खेल्न भने जारी राख्ने बताउनुभएको छ ।