काठमाडौँ,१७ कार्तिक । स्वास्थ्य सेवा विभागले रसुवाको भोटेकोशी–त्रिशूली नदी प्रभावित क्षेत्रमा हालसम्म कुनै पनि महामारी नदेखिएको जनाएको छ ।
मंगलबार सिंहदरबारमा राष्ट्रिय सभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी, आकस्मिक उपचार तथा रोग नियन्त्रणका कार्यक्रम सञ्चालन भइरहेकाले महामारीको अवस्था नरहेको उहाँले बताउनुभयो ।
‘हाल बाढी प्रभावित २१ हजार ३ सय ९१ जनालाई कुल १४ वटा होल्डिङ सेन्टरबाट सेवा प्रदान भइरहेको छ । त्यसैगरी ९ हजार ५ सय ६४ जनालाई फिल्डमै आकस्मिक चिकित्सा टोली र तथा शिविरमार्फत व्यवस्थापन गरिएको छ । १ सय ३९ जना मानसिक स्वास्थ्यका जनशक्तिहरुको सहयोगमा ९ हजार ३ सय ६८ जनालाई मानसिक परामर्श सेवा उपलब्ध गराइएको छ,ु उहाँले भन्नुभयो ।
खोनपानीको १५ वटा नमुना संकलन गर्दा ५ वटामा दिशामा हुने किटाणु भेटिएपछि पानीलाई क्लोरिनेसन र शुद्धीकरणको अभियान चलाइएको छ । रसुवामा २१ हजार ६ सय, नुवाकोटमा ८० हजार ५ सय २३ गरी करिब १ लाख २ हजार मात्रा मुखले खुवाउने खोप खुवाएको उहाँले बताउनुभयो ।