Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

इसिमोडको प्रारम्भिक निस्कर्ष चुम्चेतमा पहिरोले थुनिएको नदी फुट्दा बूढीगण्डकीमा विनाशकारी बाढी


392
Shares

इसिमोडको प्रारम्भिक निस्कर्ष चुम्चेतमा पहिरोले थुनिएको नदी फुट्दा बूढीगण्डकीमा विनाशकारी बाढी

गोरखा २६ असोज : गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान आएको विनाशकारी बाढी नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। गोरखाको चुम्चेतनजिक पहिरो खसेपछि नदीको बहाव रोकिएको र त्यसरी जम्मा भएको पानी एक्कासि खुलेर बाढी आएको हुन सक्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले प्रारम्भिम निष्कर्ष निकालेको हो ।

इसिमोडका अनुसार बाढी आइतबार बिहान नेपाली समयअनुसार करिब ४ बजे शुरू भएको अनुमान छ। बाढीले नदीमा थुप्रिएको माटो, गेग्रान र पहिरोका अवशेष बगाउँदै तल्लो तटीय क्षेत्रमा ठूलो प्रभाव पारेको थियो। नदीको बहावमा उतारचढाव आएपछि आसपासका बस्तीमा जोखिम बढेको थियो। त्यसपछि अधिकारीहरूले बूढीगण्डकी, त्रिशूली र नारायणी नदी आसपासका बासिन्दालाई सतर्क रहन चेतावनी दिएका थिए।

यो घटना रसुवा–केरुङ क्षेत्रमा आएको विपत्तिको केही समयपछि भएको हो। छोटो अवधिमै हिमाली क्षेत्रमा अर्को ठूलो बाढी आउनुले पहाडी तथा हिमाली भूभागमा एकपछि अर्को विपद् निम्तिन सक्ने जोखिमलाई फेरि उजागर गरेको इसिमोडले जनाएको छ । इसिमोडका जलवायु तथा वातावरणीय जोखिमसम्बन्धी रणनीतिक नेतृत्वकर्ता चियाङगङ झाङले प्रारम्भिक विश्लेषणले पहिरोका कारण बनेको अस्थायी अवरोध फुट्दा गेग्रानसहितको ठूलो बाढी आएको हुन सक्ने देखाएको बताए।

बूढीगण्डकीमा यसअघि पनि ठूलो बाढी उत्पन्न भएको थियो। सन् २०२४ को अप्रिलमा मनास्लु हिमनदीको अग्रभागबाट ठूलो हिमपहिरो खसेपछि वीरेन्द्र तालमा अचानक पानीको बहाव बढेको थियो। त्यसपछि तालको पानी एक्कासि बाहिरिएर बूढीगण्डकी नदीमा बाढी आएको थियो।

इसिमोडको नेतृत्वमा गरिएको विस्तृत अध्ययनले उक्त घटनालाई हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटबर्स्ट फ्लड—जीएलओएफ) नभई हिमपहिरोका कारण तालको पानी विस्थापित भएर बाहिरिएको घटनाका रूपमा व्याख्या गरेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology