Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सिरिङ्गे हिमालमा हिमपहिरो जाँदा बुढीगण्डकीमा भीषण बाढी : कहाँ के के भयो हेर्नुहोस् ?


777
Shares

सिरिङ्गे हिमालमा हिमपहिरो जाँदा बुढीगण्डकीमा भीषण बाढी : कहाँ के के भयो हेर्नुहोस् ?

गोरखा २५ असोज । गोरखाको चुमनुब्री गाउँपालिका–६, लोक्पा र चुम्लिङबीचको सिरिङ्गे हिमालमा हिमपहिरो गएपछि उइनगुलुङ खोला थुनिएर बुढीगण्डकी नदीमा बाढी आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । हिमपहिरोका कारण नदी थुनिएको र बिहान ६ः १५ बजेदेखि पानी बग्न थालेपछि नदीमा ठूलो बाढी आएको हो। बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे पुल तथा पक्की पुलमा क्षति पुर्‍याएको छ। चुमनुब्री गाउँपालिका–३, सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका ७–८ वटा घर बगाएको विवरण प्राप्त भएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा अनुगमनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली परिचालन गरिएका छन्। प्रहरीका अनुसार हिमपहिरोपछि नदी थुनिएर बाढी आएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सिर्दिबास र प्रहरी चौकी चुन्चेतबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएका थिए। नदी तटीय क्षेत्रमा रहेका प्रहरी इकाइ र स्थानीय बासिन्दालाई समेत सतर्क गराइएको थियो।

पुल र घरमा क्षति

बाढीका कारण चुमनुब्री गाउँपालिका–३ स्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही वडाको सिर्दिबासमा रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको र अर्को घरमा बाढी पसेको विवरण छ।

धार्चे गाउँपालिका–५, माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा ५–७ वटा घर र ५–७ वटा टहरामा क्षति पुगेको विवरण प्राप्त भएको छ। चुमनुब्री गाउँपालिका–३, सल्लेरीमा २०–२२ वटा घर जोखिममा रहेका छन्।

आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल बगाएको छ। आरुघाट गाउँपालिका–९, नयाँपुलमा गोरखाको आरुघाटलाई धादिङसँग जोड्ने पक्की पुलको गोरखातर्फको एउटा भाग बगाएको छ। तीन भागमा रहेको उक्त पुलमा क्षति पुगेपछि सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यसैगरी, आरुघाट गाउँपालिका–३, सोतीमा करिब १४–१५ वटा घरमा बाढी पसेको विवरण छ। धार्चे गाउँपालिका–१, यारुबगरमा फसेका स्थानीय तथा हाइड्रोपावरमा कार्यरत १८ जना नेपाली नागरिकलाई नेपाली सेनाको हेलिकप्टरले सुरक्षित स्थानमा उद्धार गरेको जनाइएको छ।

उद्धार तथा अनुगमनमा सुरक्षा निकाय परिचालन

बाढीको अवस्था बुझ्न र उद्धार कार्यका लागि नेपाली सेनाको हेलिकप्टर बिहान ७: ४५ बजे चुमनुब्री गाउँपालिका–३, सिर्दिबासमा अवतरण गरेको थियो। त्यसपछि हेलिकप्टरबाट पहिरो क्षेत्रको अनुगमन गरी बिहान ८: ०५ बजे जगततर्फ फर्किएको विवरणमा उल्लेख छ।

बाढी बिहान ८ बजे आरुघाट र ८:५५ बजे घ्यालचोक पुगेको जानकारी प्राप्त भएको छ। नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक अनिल श्रेष्ठको कमान्डमा २५ जनाको टोली परिचालन गरिएको थियो।

बिहान ९: २० बजे प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, नेपाली सेना रुद्रध्वज गणबाट प्रमुख सेनानी विरोध रिजालको कमान्डमा ३० जनाको टोली, जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी उपरीक्षक अनिलकुमार खड्काको कमान्डमा ५० जनाको टोली तथा सशस्त्र प्रहरी बल नेपाल नं २९ गुल्म हेडक्वार्टर गोरखाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुदीप रेग्मीको कमान्डमा नौ जनाको टोली आरुघाटतर्फ परिचालन गरिएको थियो।

नेपाली सेनाको टोलीले उद्धार सामग्रीसहित जिल्ला प्रहरी कार्यालय गोरखाको GWAA 4835  नम्बरको वानटन प्रयोग गरेको  छ। बाढीबाट भएको क्षतिको विवरण संकलन तथा उद्धार कार्य जारी रहेको जनाइएको छ। उपलब्ध विवरणअनुसार अन्य क्षतिको पूर्ण विवरण प्राप्त भइसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology