गोरखा २६, बैशाख । गोरखामा बिक्रिका लागि अनुमति नभएको कृषि फार्मले नै कृर्षकलाई मंहगोमा मल बिक्री गरेको पाइएको छ । भीमसेन थापा गाउँपालिका– १ निवेलमा रहेको हिमालय एग्रो फार्मले बिभिन्न सहकारीबाट रासायनिक मल लगेर कृषकहरुलाई प्रति किलो ३५ रुपैयाका दरले बिक्रि गरेको पाइएको हो । उक्त फार्मले कृषकहरुलाई प्रतिव्यक्ति १५ किलोसम्म मल उपलब्ध गराउने गरेको कृषकहरुको भनाई छ । केरा खेती र माछा पालन गर्दै आउनु भएका भक्तकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त फर्मका लागि आबश्यक मल जिल्ला प्रसासन कार्यालयले समेत सिफारिस गरिदिएको भएपनि अन्य सहकारीहरुबाट समेत मल ल्याएर बिक्रि गर्ने गरेको पाइएको हो ।
सञ्चालक श्रेष्ठले मल खोज्न आउने कृषकलाई मान्छे हेरेर मल बिक्रि गर्दै आउनु भएको छ, स्थानीबासी बासुदेव देवकोटाले भन्नुभयो, उहाँले आफ्नै लागि भनेर ल्याउने र कृषकलाई महंगो मूल्यमा बिक्रि गर्दै आउनु भएको पाइएको हो ।’ श्रेष्ठले बोरामा बेच्दा प्रति बोरा रु १७ सय रुपैयामा बिक्रि गरेको उहाँले बताउनुभयो । तर जिल्ला प्रसासन कार्यालय गोरखाले जिल्लाभर प्रतिबोरा रु १ हजार भन्दा बढीमा बिक्रि गर्न नपाउने निर्णय गरेको छ । कृषकहरुले आफुहरु ठगिएको थाहा पाएपछि आज एग्रो फार्ममा गएर घेराउ समेत गरेको भीमसेन थापा गाउँपालिका १ का अर्का कृषक प्रेम रावलले जानकारी दिनुभयो ।
‘मैले फर्मबाट १५ किलो मल खरिद गरेको हो, युरिया मल किन्न आउनेलाई अनिबार्य डिएपी मल लैजानै पर्ने भनि प्रति किलो ७० रुपैयामा तिरेर नचाहिने मल समेत उहाँले कृषकलाई किन्न बाध्य बनाउदै आउनु भएको छ ।’ उहाँले भन्नुभयो । भीमसेन थापा गाउँपालिका–१ का अर्का कृषक मुकेस थापाले भन्नुभयो, ‘ मैले २० दिन अघि १५ किलो मल खरिद गरेको हो, गाउँका सवैले ३५ रुपैया किलोमा किनेका छन ।’ कृषकहरु मल किन्न जाँदा मल अभाव छ भन्दै सञ्चालक श्रेष्ठले कृषकहरुलाई महंगो मूल्यमा मल बिक्रि गर्ने गरेको स्थानीयबासी कृषकहरुको भनाई छ । अहिले पनि श्रेष्ठको फर्ममा ४५ बोरा भन्दा बढि मल स्टक रहेको उहाँले दावी गर्नुभयो ।गाउँका अधिकांस कृषकले सोही कृषि फार्मबाट मल किनेको उहाँको भनाई छ ।
सञ्चालक श्रेष्ठले पनि आफुलाई मल बिक्रिका लागि अनुमति नभएको स्विकार गर्नुभएको छ । ‘म संग मल बिक्रिका लागि अनुमति छैन, मैले आफ्नै फर्मका लागि हारगुहार गरेर ल्याएको मल स्थानीयबासीले माग गरेपछि अलि अलि बिक्रि गरेको हो ।’ श्रेष्ठले भन्नुभयो । उहाँले प्रतिकिलो ३० रुपैयाका दरले मल बिक्री गरेको स्विकार गर्नुभयो । भीमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण थापाले गाउँपालिकाले हिमालय एग्रो फर्मलाई मल बिक्रिका लागि कुनै अनुमति नदिएको बताउनुभयो ।
‘हामीले कृषि सहकारी र आबश्यकताका आधारमा कृषक समुहलाई मात्र रकम जम्मा गरी मल बिक्रिका लागि अनुमति दिएका छौ,तर कुनैपनि फर्मलाई त्यस्तो अनुमती दिएको छैन ।’ थापाले भन्नुभयो । उहाँले गाउँपालिकाको कार्यलयले त्यसको छानविन समेत गर्ने बताउनुभयो ।