काठमाडौं, १७ असोज । यस वर्षको मनसुन नेपालबाट क्रमशः बाहिरिन थालेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार आज शनिबीरसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट मनसुन पूर्णरूपमा बाहिरिएको छ ।
बाँकी भूभागमा भने मनसुनी प्रभाव कायमै रहेकाले केही दिनमै त्यहाँबाट पनि मनसुन बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार, असोज १७ गते बिहान ११ बजे जारी गरेको मनसुन बहिर्गमन विशेष बुलेटिन अनुसार देशको पश्चिमी तथा उत्तरी केही भूभागबाट मनसुन बाहिरिए पनि मध्य तथा पूर्वी नेपालमा मनसुनी वायुको प्रभाव कायमै छ ।
महाशाखाका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेको अवस्थामा बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ हो ।
यस वर्ष भने मनसुन औसत मितिभन्दा केही ढिलो पूर्णरुपमा बाहिरिने देखिएको हो । विभागले यसअघि बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणालीका कारण मनसुन बहिर्गमन केही ढिलो हुन सक्ने जनाएको थियो ।