गोरखा १५ असोज। परिवारको खुसीका लागि केही कमाउने सपना बोकेर मनाङको हिम्लुङ हिमाल पुगेका गोरखाका दुई युवा अब आफैं फर्किने छैनन्। गत आइतबार मनाङको नार्पाभूमि–५ स्थित हिमलुङ आधार शिविरमा आएको हिउँपहिरोले उनीहरूको जीवन खोस्यो।
हिउँपहिरोमा बेपत्ता भएका धार्चे गाउँपालिका–२ केरौंजाका ४५ वर्षीय आशबहादुर गुरुङ र ३२ वर्षीय वीरेन्द्र गुरुङको शव भेटिएको छ। वीरेन्द्रको शव गत सोमबार र आशबहादुरको शव बुधबार दिउँसो फेला परेको हो।
हिमालमा बेपत्ता भएपछि परिवारका आँखा उनीहरू फर्किने आशामा बाटोतिर टोलाइरहेका थिए। ३२ वर्षीय वीरेन्द्र हिमालयन होलिडेज कम्पनीमा बेसक्याम्प सहयोगीका रूपमा काम गर्न हिमलुङ पुगेका थिए। ४५ वर्षीय आशबहादुर भने इम्याजिन नेपाल एक्स्पिडिसन प्रालिबाट गाइड तथा कुकम्यानका रूपमा त्यहाँ पुगेका थिए।
वीरेन्द्रको शव शिक्षण अस्पतालमा पोस्टमार्टमपछि गाउँ ल्याउने तयारी भइरहेको छ। आशबहादुरको शव भने अझै मनाङमै छ। हिमाल चढ्नेहरूको यात्रा सुरक्षित बनाउन आफैं हिमालको कठोरतासँग जुधिरहेका यी दुई गोरखालीको यात्रा भने हिमलुङकै हिउँमा टुंगिएको छ।
अब केरौंजाको बाटो हुँदै उनीहरू घर फर्किनेछन्—तर यसपटक हिँडेर होइन, परिवार र गाउँलेको आँसु बोकेर।