Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

त्रिशूलीको बाढीले गोरखाको रिभर फन रिसोर्टमा ठूलो क्षति, पक्की पर्खालदेखि गेटसम्म बगायो


560
Shares

त्रिशूलीको बाढीले गोरखाको रिभर फन रिसोर्टमा ठूलो क्षति, पक्की पर्खालदेखि गेटसम्म बगायो

गोरखा ११ असोज । लगातारको वर्षापछि त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारस्थित रिभर फन रिसोर्टमा भौतिक क्षति पुर्‍याएको छ। बाढीले रिसोर्टको पक्की पर्खाल, गेट, पौडी पोखरी, पानी तान्ने मोटरलगायत संरचना तथा सामग्रीमा क्षति पुर्‍याएको हो।

प्रहरीका अनुसार आइतबार दिउँसो करिब २ बजे बाढीका कारण रिसोर्टमा क्षति पुगेको जानकारी प्राप्त भएपछि प्रहरी चौकी कुरिनटारबाट प्रहरी सहायक निरीक्षक शेरबहादुर सारुको कमाण्डमा दुई जनाको टोली घटनास्थलमा खटिएको थियो।  बाढीले रिसोर्टको करिब १५० मिटर लामो र ३ मिटर अग्लो पक्की पर्खाल फलामको बारसहित बगाएको प्रहरीले जनाएको छ। त्यस्तै, पौडी पोखरी नजिक राखिएका १५ वटा काठका आराम कुर्सीसमेत बाढीले बगाएको छ।

पौडी पोखरीमा समेत आंशिक क्षति पुगेको छ। पोखरी सामान्य रूपमा भासिएको प्रहरीले जनाएको छ। रिसोर्टको प्रवेशद्वारको गेट पनि बाढीले पूर्ण रूपमा बगाएको छ।

त्यसैगरी, पानी तान्ने मोटर मेसिन पाइपसहित बगाएको छ भने रिसोर्ट परिसरमा रहेका करिब ४० देखि ५० वटा फलफूलका बोट पनि बाढीले बगाएको प्रहरीको विवरणमा उल्लेख छ।

बाढीले रिसोर्टमा मोटरबोट (डुङ्गा) पार्किङ गर्ने स्थानसमेत बगाएको छ। लगातार तीन–चार दिनदेखि परेको अविरल वर्षाका कारण त्रिशूली नदीमा आएको बाढीले रिसोर्टमा क्षति पुर्‍याएको प्रारम्भिक विवरणमा उल्लेख छ।

घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology