गोरखा ११ असोज। गोरखाको सहिदलखन गाउँपालिका–३ दोभानस्थित मझुवादेउराली–मनकामना सडकखण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब १०ः३० बजे सडकको माथिल्लो भागबाट पहिरो खसेर सडकखण्डको चार स्थानमा सडक अवरुद्ध भएको हो। पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।
प्रहरी चौकी मझुवादेउरालीबाट प्राप्त विवरणअनुसार पहिरोले सडक पूर्ण रूपमा बन्द भए पनि हालसम्म सवारीसाधन होल्डमा नरहेको जनाइएको छ। सडकमा खसेको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउन सहिदलखन गाउँपालिकासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
निरन्तर वर्षाका कारण गोरखाका विभिन्न ग्रामीण तथा मुख्य सडकखण्डमा पहिरोको जोखिम बढेको छ। मझुवादेउराली–मनकामना सडकखण्ड पनि पहाडी भूगोल हुँदै जाने भएकाले वर्षाका बेला सडक माथिबाट पहिरो खस्ने जोखिम रहँदै आएको छ।
चार स्थानमा एकैपटक पहिरो खसेपछि सडक तत्काल खुलाउन सम्बन्धित निकायले आवश्यक पहल थालेको छ। पहिरो हटाउने काम सुरु भएपछि मात्रै सडकमा सवारी आवागमन सहज हुने अवस्था रहेको छ।
प्रहरीले सडकको अवस्था पूर्ण रूपमा सामान्य नभएसम्म यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरेको छ।