Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाको अधेरीमा सडक भासिँदा चार घर पहिरोको जोखिममा, दुई घरका आँगन चर्किए


581
Shares

गोरखाको अधेरीमा  सडक भासिँदा चार घर पहिरोको जोखिममा, दुई घरका आँगन चर्किए

गोरखा ११ असोज। गोरखाको सहिदलखन गाउँपालिका–७ अधेरीमा सडक भासिएपछि चार घर पहिरोको जोखिममा परेका छन्। गोरखाबजारबाट घैरुङ जाने पक्की सडकखण्ड भासिँदा सडकभन्दा करिब ३०० मिटर तल रहेका दुई पक्की घरसमेत जोखिममा परेका हुन्।

प्राप्त विवरण अनुसार आइतबार  दिउँसो १२ः३० बजे सडक भासिएको हो। सडकभन्दा तल रहेका स्थानीय ज्ञानुमाया रानाको दुईतले पक्की घर र भीमबहादुर रानाको एकतले पक्की घर पहिरोको जोखिममा रहेका छन्। ज्ञानुमाया रानाको घरमा एक जना र भीमबहादुर रानाको घरमा तीन जना परिवार सदस्य बस्दै आएका छन्।

त्यस्तै, सडकभन्दा माथि रहेका थप दुई घरसमेत पहिरोको जोखिममा परेका छन्। ललिन्द्र थापा मगरको दुईतले कच्ची घरको आँगनको गाह्रो पहिरिएपछि घर जोखिममा परेको छ। उनको परिवारमा एक जना रहेको जनाइएको छ।

यसैगरी भीम रानाको एकतले कच्ची घरको आँगनसमेत चर्किएको छ। सडक भासिएसँगै माथिल्लो र तल्लो भागमा पहिरोको जोखिम बढेकाले स्थानीयवासीमा त्रास सिर्जना भएको छ।

सडक भासिएको क्षेत्रमा थप पहिरो जान सक्ने सम्भावना रहेकाले जोखिममा रहेका घर तथा स्थानीयवासीको सुरक्षाका लागि आवश्यक सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology