गोरखा — जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ८ गतेदेखि ११ गतेसम्म विभिन्न जिल्लाहरूमा भारीदेखि अति भारी वर्षा हुने प्रक्षेपण गरेपछि आधारमा राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको मनास्लु संरक्षण क्षेत्र आयोजनाले असोज ८ गतेदेखि १० गतेसम्म अर्को सूचना जारी नभएसम्म संरक्षण क्षेत्रमा प्रवेश अनुमति पत्र जारी नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
आयोजनाका अनुसार मनसुनजन्य प्रभावका कारण मनास्लु संरक्षण क्षेत्र समेत प्रभावित हुनसक्ने भएकाले क्षेत्रका विभिन्न स्थानमा पहिरो, ढुंगा खस्ने, नदी तथा खोलाहरूमा पानीको बहाव बढ्ने र पदमार्ग तथा पुलहरूमा क्षति पुग्ने सम्भावना रहेको छ, जसका कारण यात्रा जोखिमपूर्ण हुनसक्ने भन्दै अनुमति प्रदान गर्न रोक लगाइएको आयोजना प्रमुख अनिल प्रसाईंको हस्ताक्षरमा जारी सूचनामा उल्लेख छ ।
सूचनाले सम्पूर्ण चेकपोस्ट तथा CAMC/पर्यटक व्यवस्थापन उप-समितिहरूलाई आफ्नो क्षेत्रको मौसम, पदमार्ग, खोला-नदी, पुल तथा सम्भावित पहिरो जोखिमको नियमित निगरानी गरी आवश्यक जानकारी सम्बन्धित निकायमा तत्काल सम्प्रेषण गर्न निर्देशन दिएको छ। साथै भारी तथा निरन्तर वर्षा भइरहेको अवस्थामा जोखिमयुक्त पदमार्गमा पर्यटक तथा अन्य व्यक्तिहरूलाई यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न आवश्यक सूचना तथा सहजीकरण गर्न पनि तोकिएको छ।
पहिरो, ढुंगा खस्ने, नदीको बहाव बढ्ने वा पदमार्ग असुरक्षित भएको अवस्थामा स्थानीय तह, प्रहरी, MCAP तथा अन्य जिम्मेवार निकायसँग समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि सूचनामा उल्लेख छ। यसैगरी जगत, छेकम्पार र सामागाउँलगायतका चेकपोस्टहरूलाई पर्यटकको आवतजावत तथा स्थानीय अवस्थाबारे नियमित जानकारी संकलन गरी गोरखा कार्यालयमा अद्यावधिक गर्न भनिएको छ। ट्रेकर्स तथा पर्यटकहरूलाई मौसमको अवस्था र स्थानीय अधिकारीहरूको निर्देशनलाई ध्यान दिई जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न तथा यात्रा अघि सम्बन्धित चेकपोस्ट वा स्थानीय निकायबाट पदमार्गको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।
आयोजनाले उल्लिखित सूचना तथा हालको मौसम अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण कर्मचारी, CAMC, पर्यटक व्यवस्थापन उप-समिति, स्थानीय समुदाय तथा मनास्लु क्षेत्रमा भ्रमणरत पर्यटक र ट्रेकर्सहरूलाई उच्च सतर्कता अपनाई मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा सहयोग गर्न अनुरोध गरेको छ।