Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मनास्लुमा हिउँले पुरिएर मृत्यु भएका आरोही र ट्रेकिङ गाइडको शव काठमाडौं पठाइयो


616
Shares

मनास्लुमा हिउँले पुरिएर मृत्यु भएका आरोही र ट्रेकिङ गाइडको शव काठमाडौं पठाइयो

गोरखा ७ असोज ।  मनास्लु हिमालको क्याम्प–३ मा हिउँले पुरिएर मृत्यु भएका जर्मनी नागरिक ध्रुवज्योति गुहा र नेपाली नागरिक फुर्सेम्बा शेर्पाको शव काठमाडौं पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार दुवै जनाको शव बुधबार बिहान ६ः५२ बजे एभरेस्ट एयरको हेलिकोप्टरमार्फत काठमाडौंस्थित शिक्षण अस्पताल (टिचिङ अस्पताल) पठाइएको हो।

मनास्लु आरोहणका क्रममा चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित क्याम्प–३ मा असोज ४ गते टेन्टभित्र हिउँले पुरिएको अवस्थामा दुवै जनाको शव फेला परेको थियो। जर्मनी नागरिक ध्रुवज्योति गुहा मकालु एड्भेन्चर कम्पनी काठमाडौंमार्फत मनास्लु आरोहणका लागि नेपाल आएका थिए। फुर्सेम्बा शेर्पा संखुवासभाको मकालु गाउँपालिका–२ रोपेसा ट्याक्से निवासी नेपाली नागरिक हुन्।

मौसम प्रतिकूल भएपछि तत्काल शव उद्धारमा समस्या भएको थियो। मौसम खुलेसँगै असोज ६ गते साँझ एभरेस्ट एयरको हेलिकोप्टरमार्फत दुवै शव उद्धार गरी सामागाउँ ल्याइएको थियो।

सामागाउँ ल्याइएपछि साँझ ७ः४५ बजे मुचुल्का कार्य सम्पन्न गरिएको प्रहरीले जनाएको छ। त्यसपछि दुवै शव चुमनुब्री गाउँपालिका–१ स्थित वडा कार्यालयको कोठामा राखिएको थियो।

शवको सुरक्षा तथा कुरुवाका लागि प्रहरी चौकी सामागाउँबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) कहैयालाल बारीको कमाण्डमा तीन जनाको प्रहरी टोली खटाइएको थियो। यसैबीच, शव काठमाडौं लैजान प्रयोग भएको एभरेस्ट एयरको हेलिकोप्टर सामागाउँ हेलिप्याडमै राति बसेको थियो। त्यसपछि बुधबार बिहान मौसम तथा उडानको अवस्था अनुकूल भएपछि दुवै शव हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको हो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology