गोरखा ५ असोज । गोरखा नगरपालिका–१३, अबुवाँमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा बाबुछोरा घाइते भएका छन्। सोमबार बिहान ११ः ५० बजेको समयमा आँबुखैरेनीबाट गोरखातर्फ जाँदै गरेको बा ५ ख ७२९० नम्बरको फोरह्विल ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ८२ प ७२४७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकल चालक जिल्ला चितवन रत्ननगर नगरपालिका–१३ बस्ने अन्दाजी २३ वर्षीय विशाल रिजाल र उनका ६ वर्षीय छोरा रियान्त रिजाल घाइते भएका हुन् । चालक विशालको दाहिने खुट्टामा चोट लागेको छ भने पछाडि सवार बालक रियान्तको दाहिने खुट्टाको घुँडाभन्दा माथि चोट लागेको छ।
दुवै घाइते बोल्न सक्ने अवस्थामा रहेका छन् र उनीहरूलाई उपचारका लागि आँबुखैरेनी गाउँपालिका अस्पताल, आँबुखैरेनी, तनहुँ पठाइएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन नियन्त्रणमा लिइएको छ । दुघटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।