गोरखा ५ असोज । गोरखाको मनास्लु हिमाल आरोहणका क्रममा क्याम्प–३ मा टेन्टभित्र हिउँले पुरिएर दुई जनाको मृत्य भएको छ । आइबार हिउँले परिएको अवस्थामाचुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु क्याम्प–३ मा एक जर्मन नागरिक र एक नेपाली गाईड मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मुत्यु हुनेमा जर्मनीका ४७ वर्षीय ध्रुबज्योति गुहा राहदानी नम्बर C5NF1J56T र संखुवासभा जिल्लाको मकालु गाउँपालिका–२ रोपेसा ट्याक्सेका बासिन्दा ४८ वर्षीय गाईड फुर्सेम्बा शेर्पा रहेका छन्।
दुवै मकालु एड्भेन्चर कम्पनी काठमाडौंमार्फत मनास्लु आरोहणका लागि गत भदौ २२ सामागाउँ आइपुगेका थिए। यी दुवै व्यक्ति असोज ३ गते राति १० बजेसम्म सम्पर्कमा रहेको तर त्यसपछि सम्पर्कविहीन भएपछि क्याम्प–२ बाट पासाङ पेम्बा शेर्पा र दावा शेर्पा गरी दुई जनाको खोजी तथा उद्धार टोली आधार शिविर नम्बर ३ मा पुगेको थियो। खोजीका क्रममा उनीहरू टेन्टभित्र हिउँले पुरिएको अवस्थामा मृत फेला परेका थिए।मकालु एड्भेन्चर कम्पनीले स्याटेलाइट सेटमार्फत क्याम्प–२ सँग सम्पर्क गर्दा घटनाको पुष्टि भएको हो।
सोही दिन राति ८ बजे कम्पनीका व्यवस्थापक मोहन लम्सालमार्फत प्रहरी चौकी सामागाउँमा घटनाको जानकारी प्राप्त भएको प्रहरीको भनाई छ । प्राप्त विवरण अनुसार, आरोहण दलमा ६ जना विदेशी ९ देश उल्लेख नभएको र ७ जना नेपाली गाईड/पोर्टरसहित जम्मा १३ जनाको टोली रहेको थियो। यो टोली असोज १ गते मनास्लु आधार शिविर नम्बर १ मा बसेको थियो।
असोज २ गते मृतक दुई जना सिधै आधार शिविर नम्बर ३ मा गएका थिए भने बाँकी ११ जना आधार शिविर नम्बर २ मा बसेका थिए। घटनास्थलबाट शवहरू उद्धार गर्ने पहल भइरहेको छ।