Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता


833
Shares

गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता

 

गोरखा, ३१ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लामो समयदेखि बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गृह जिल्ला भ्रमणका क्रममा तनहुँको आँबुखैरेनीमा शुक्रबार आयोजित कार्यक्रममा स्थानीयवासीले उद्योग सञ्चालनको माग गरेपछि अर्थमन्त्री वाग्लेले सरकारको नीति स्पष्ट पार्दै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

सरकारले बन्द अवस्थामा रहेका सरकारी उद्योग पुनस् सञ्चालन गर्ने नीति लिएको बताउँदै अर्थमन्त्री वाग्लेले गोरखकाली रबर उद्योग पनि सञ्चालनमा ल्याउने बताउनुभयो ।

सुरुमा सरकारले नै उद्योग सञ्चालनको परीक्षण गर्ने र उद्योग नाफामा जान सक्ने अवस्था देखिएपछि दीर्घकालीन व्यवस्थापनका लागि निजी क्षेत्रलाई जिम्मा दिने नीति रहेको उहाँले जानकारी दिनुभयो ।

“सरकारले बन्द उद्योग सञ्चालन गर्ने नीति लिएको छ । सुरुमा सरकार आफैँले परीक्षणका रूपमा सञ्चालन गर्छौँ । उद्योग सञ्चालन गर्न सकिने र नाफामा लैजान सकिने अवस्था देखिएपछि निजी क्षेत्रलाई जिम्मा दिनेछौँ,” अर्थमन्त्री वाग्लेले भन्नुभयो ।

विगतमा सरकारी उद्योग सरकारकै व्यवस्थापनमा सञ्चालन गर्दा घाटामा गएको अनुभवबाट पाठ सिकेर यसपटक फरक ढाँचाबाट उद्योग सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

स्वदेशी उत्पादन बढाउने, आयातमा निर्भरता घटाउने र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले बन्द उद्योग सञ्चालनलाई सरकारले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।

कार्यक्रममा स्थानीयवासीले गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन अर्थमन्त्री वाग्लेसँग माग गरेका थिए । हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै गोरखकाली रबर उद्योगलाई पनि प्राथमिकतामा राखेर सञ्चालन गर्न उनीहरूले आग्रह गरेका हुन् ।

उद्योग सञ्चालनमा आएपछि स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने मागसमेत स्थानीयवासीले गरेका थिए । उद्योग बन्द हुँदा त्यससँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका परिवार तथा स्थानीय व्यवसाय प्रभावित भएकाले पुनः सञ्चालनसँगै स्थानीयको रोजगारीलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको माग थियो ।

तनहुँको आँबुखैरेनी बजारनजिकै गोरखाको गोरखा नगरपालिका–१३ मझुवामा रहेको गोरखकाली रबर उद्योग चीन सरकारको सहयोगमा स्थापना भएको हो । उद्योग २०४१ साल जेठ ३० गते दर्ता भएको थियो भने २०४२ सालमा शिलान्यास गरिएको थियो ।

२०५० को दशकदेखि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगले एक समय स्वदेशी बजारको टायर तथा ट्युबको मागको ठूलो हिस्सा धान्दै आएको थियो । करिब ६७० रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा सरकार, नागरिक तथा विभिन्न सङ्घसंस्थाको लगानी रहेको थियो ।

उद्योगले वार्षिक करिब ८८ हजार टायर उत्पादन गर्न सक्ने क्षमता विकास गरेको थियो । ट्रक, जीप, भ्यान र कारका लागि विभिन्न प्रकारका टायर उत्पादन गर्दै आएको उद्योगका उत्पादन देशका प्रमुख सहरमा रहेका डिपोमार्फत बिक्री वितरण हुँदै आएका थिए ।

उद्योगले उत्पादन गरेका टायर भारत, बङ्गलादेश र श्रीलङ्कालगायत दक्षिण एसियाली मुलुकमा समेत निर्यात गर्दै आएको थियो । कुनै समय स्वदेशी मागको ठूलो हिस्सा धान्दै आएको उद्योग लामो समयदेखि बन्द हुँदा यसको संरचना र मेसिनरी प्रयोगविहीन अवस्थामा छन् ।

राजनीतिक हस्तक्षेप, व्यवस्थापनको कमजोरी तथा कच्चा पदार्थको अभावलगायत कारण उद्योग सञ्चालनमा समस्या आएको बताइन्छ । लामो समयदेखि बन्द रहेको उद्योगमा राज्यको ठूलो लगानी र भौतिक संरचना प्रयोगविहीन बनेका छन् ।

सरकारले बन्द उद्योग सञ्चालन गरी उत्पादन र रोजगारी बढाउने नीति अघि सारेसँगै गोरखकाली रबर उद्योग सञ्चालनमा आउने अपेक्षा स्थानीयवासीमा जागेको छ । उद्योग सञ्चालनसँगै स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने मागसमेत उनीहरूले दोहोर्‍याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology