गोरखा, २७ साउन। गोरखाको पालुङटार नगरपालिका क्षेत्रमा भएको डाँका चोरी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। यहीँ साउन ५ गते राति करिब ९ः२० बजेको समयमा पालुङटार नगरपालिका वडा नम्बर २ भण्डारी चौतारास्थित सार्वजनिक बाटोमा हिडिरहेका मानिसलाई लुटपाट र चोरी गरेको आरोपमा दुई युवालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नं २ हर्मिकोट आपपिपल बस्ने, २२ बर्षका श्रीकृष्ण परियार र २३ बर्षका कुशल एसी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकमार श्रेष्ठले जानकारी दिनुभयो ।
उनिहरुले सोही ठाउँका दुर्गा एसीलाई सिरानचोक गाउँपालिका वडा नम्बर ३ हर्मिबाट आफ्नै घरतर्फ जाँदै गरेका समयमा लुटपाट गरेका थिए । कालो नकापधारी अज्ञात मानिसहरूले रोकेर लुटपाट गरेको घटनाको अनुसन्धानका क्रममा उनिहरु पक्राउ परेका हुन् ।
आक्रमणकारीहरुले एसीको मुख प्लास्टिकको बोराले छोपी नाइलनको डोरीले बाध्न समेत खोजेको र उहाँको साथमा रहेको झोला तथा झोलाभित्र रहेको एक लाख सत्तरी हजार रुपैयाँसहितका कागजात लुटेर फरार भएका थिए ।
पक्राउ परेका दुवैजनालाई डाँका चोरी शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । तस्विर एआई