गोरखा, १९ साउन : लामो समयपछि गोरखाको भीमसेन थापा गाउँपालिकाको घ्याम्पेसालमा निर्माण गरिएको ३३/११ केभी क्षमताको विद्युत् सबस्टेसन सञ्चालनमा आएको छ। गोरखा वितरण केन्द्रले यो सबस्टेसन सञ्चालनमा आएको जानकारी दिएको छ।
नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय, वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना, एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा उक्त सबस्टेसन निर्माण गरिएको हो। लामो समयदेखि स्थानीयस्तरमा उत्पन्न अवरोधका कारण सञ्चालनमा आउन नसकेको यो सबस्टेसन सञ्चालनमा आएपछि उत्तरी गोरखाका जनतालाई लाभ पुग्ने नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले दिनुभयो ।
उहाँका अनुसार उक्त सबस्टेसनबाट उत्तरी गोरखाका १५ हजार जनताले भरपर्दो र गुणस्तरीय विद्युत् सेवा प्राप्त गर्नेछन्। यस सबस्टेसनको निर्माणसँगै उक्त क्षेत्रको निर्माणाधीन बारपाक दरौदी हाइड्रोपावर आयोजनाबाट उत्पादन हुने १० मेगावाट विद्युत् समेत यसै सबस्टेसनको माध्यमबाट नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिने छ।