अनुप तिवारी
गोरखा, ७ असार । गोरखा नगरपालिका–३ नारेश्वरमा अवस्थित श्री विन्ध्यवासिनी माताको मन्दिर प्राचीनकालदेखि नै भक्तजनहरूको अटल आस्था, विश्वास र श्रद्धाको केन्द्रका रूपमा परिचित रहँदै आएको छ। स्थानीय जनश्रुति अनुसार यो मन्दिर कुनै मानवद्वारा स्थापना गरिएको नभई स्वयं देवी प्रकट भएको पवित्र स्थल मानिन्छ ।
मन्दिर परिसरमा रहेको विशाल शिलाखण्डको बीचभागमा सानो दुलो रहेको छ, जहाँबाट बाह्रै महिना निरन्तर जलधारा बगिरहन्छ। प्राकृतिक गुफाजस्तै देखिने उक्त शिलाखण्डबाट निस्कने जललाई भक्तजनहरूले देवीको अमृतधारा तथा चमत्कारी प्रसादका रूपमा ग्रहण गर्ने गर्दछन्। यस जलले रोगव्याधि नाश हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ।
स्थानीय इतिहासअनुसार वि।सं। १६७५ तिर गोरखाका न्यायप्रिय राजा राम शाहको शासनकालमा यस पवित्र स्थललाई व्यवस्थित संरक्षण गरी मन्दिरको स्वरूप प्रदान गरिएको थियो। पूजा–अर्चना सञ्चालनका लागि धादिङको खरी मैदी गाउँबाट ब्राह्मण काशीनाथ तिवारीको परिवारलाई गोरखा ल्याइएको थियो। मन्दिरको सेवा तथा जीविकोपार्जनका लागि गुठीको व्यवस्था समेत गरिएको बताइन्छ। हाल तिवारी परिवारकै आठौँ पुस्ताले मन्दिरमा नियमित पूजा गर्दै आएको इतिहास रहेको छ।
विन्ध्यवासिनी मातालाई मनोकामना पूरा गरिदिने शक्तिशाली देवीका रूपमा श्रद्धापूर्वक पूजा गरिन्छ। सन्तान प्राप्ति, रोगमुक्ति, विदेश यात्रा, व्यापार–व्यवसायको सफलता तथा पारिवारिक सुख–शान्तिका लागि भक्तजनहरूले भाकल गर्ने परम्परा आज पनि जीवित छ। विशेषगरी मनोकामना पूरा भएपछि परेवा उडाउने चलन यस क्षेत्रको विशिष्ट धार्मिक परम्पराका रूपमा रहेको छ। पञ्चबली तथा अन्य परम्परागत बलि चढाउने प्रचलन समेत कायम छ।
मन्दिरमा जनैपूर्णिमा, बडा दशैं र चैते दशैंका अवसरमा विशेष धार्मिक मेला लाग्ने गर्दछ। ती अवसरमा गोरखासहित धादिङ, तनहुँ, लमजुङ, चितवन लगायत विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालु दर्शनका लागि पुग्ने गर्दछन्। भजन–कीर्तन, पूजा–अर्चना, बलिपूजा तथा धार्मिक अनुष्ठानले मन्दिर क्षेत्र भक्तिमय बन्ने गर्दछ।
विगतमा शाह राजाहरूको शासनकालमा मन्दिरले विशेष राजकीय संरक्षण प्राप्त गरेको थियो । दरबारबाट पूजा सामग्री, बलिका लागि बोका तथा मेलाको व्यवस्थापनका लागि कर्मचारीसमेत खटाइने परम्परा रहेको स्थानीय बुढापाकाहरू बताउँछन् ।
प्राकृतिक जलधारा, ऐतिहासिक महत्व, धार्मिक विश्वास र सांस्कृतिक परम्पराले श्री विन्ध्यवासिनी माताको मन्दिरलाई गोरखाको महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक सम्पदाका रूपमा स्थापित गरेको छ ।