गोरखा २३, बैशाख । गोरखा सदरमुकाममा कोरोना संक्रमण भएको जिल्लाबाट कामदार भित्राईएको छ । सर्वपक्षिय बैठकले बिकास निर्माण कामलाई अघि बढाउने सहमती लगत्तै कैलालीबाट आज बिहान २८ जना मजदुरलाई गोरखा ल्याइएको हो । जिल्ला प्रशासन कार्यालयले स्विकृती दिएपछि जि ल्ला प्रहरी कार्यालय निर्माणधिन भवन निर्माणका लागि काम गर्ने गरि मजदुर बिहान मात्रै गोरखा सदरमुकाममा प्रवेश गरेका हुन् ।
‘पहिला पनि काम गरेर गएको मजदुर भएकोले उनीहरुलाई फेरी काममा फर्काइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले बताउनुभयो । कोरोना संक्रमित जिल्लाबाट मजुदर गोरखा भित्रएपछि गोरखा नगरपालिकाले भने आपत्ती जनाएको छ । ‘मलाई पहिला एक पटक मौखिक रुपमा सोधिएको थियो , उहाँले भन्नुभयो, ‘मैले संक्रमण भएको जिल्लाभन्दा बाहिरबाट मजदुर ल्याएको खण्डमा आपत्ति नहुने जानकारी सिडियोलाई गराएको थिए ।’
मेयर पन्तले हिजो मात्र कैलालीबाट मजदुर हिडेपछि मात्र आफुलाई जानकारी गराईएको र तत्कालै आफुले असमती जनाएको जानकारी दिनुभयो । गोरखा ल्याइएका मजदुरमा कोरोना रहेछ र त्यसले जिल्लामा कोरोना फैलिएको खण्डमा मजदुर ल्याउन स्विकृत दिने प्रमुख जिल्ला अधिकारी, मजदुर ल्याउन समन्वय गर्ने प्रहरी उपरिक्षक र ल्याउने ठेकेदार नै जिम्मेवार हुने मेयर पन्तले बताउनुभयो । अझै पनि आएका मजदुरहरु सबैले क्वारेन्टाइनमा बसेको प्रमाण पत्र र आरडिटीबाट नेगेटिभ देखिएमा मात्र कामको लागि सहमती दिन सकिने, होइन भने कुनै पनि हालतमा स्विकृती दिन नसकिने गोरखा नगरपालिकाको भनाई छ ।
काम गर्न सम्बन्धित पालिकाको पूर्व स्विकृती लिनुपर्ने प्रावधान भएपनि जिल्ला प्रहरी कार्यालय वा अनुमती दिने जिल्ला प्रशासन कार्यालय र ठेकेदार कम्पनी कुनैले पनि गोरखा नगरपालिकाका स्विकृती नलिएको मेयर पन्तले बताउनुभयो । यता प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नगरपालिकाले मौखिक स्विकृती जनाएपछि मात्र जिल्लामा मजदुर भित्राउनको लागि स्विकृती दिईएको दावी गर्नुभएको छ । ‘सरकारले बिकास निर्माणको कामलाई अगाडी बढाउने निर्माण गरे संगै जिल्लाको सबै स्थानिय निकायसंग समन्वय र सहमतीमा मात्र मजदुर ल्याउन दिएका हौ’ प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय भित्र बन्दै गरेको निर्माणाधिन भवनमा काम गर्न ल्याईएका मजदुरबाट आफहरु समेत असुरिक्ष महसुुस गरेको कार्यलय भित्र रहेका प्रहरीको गुनासो समेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख ओमप्रसाद अधिकारीले भने भवन बनाउदा बनाउदै फर्किएका मजदुरलाई ल्याइएको भन्दै निर्माण स्थल भित्रै बनाएको कटेरोमा क्वारिन्टीन जस्तै गरि राखिने हुनाले बाहिर जान नपाउने व्यवस्था गरिने बताउनुभयो । पश्चिम तराईको कैलालीमा ४ जना संक्रमित व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । जसमा ३ जना स्वास्थ्य उपचार पछि घर गई सकेका छन् भने १ जना अझै रहेका छन् ।