काठमाडौँ, जेठ २१ गते । चीनसँगको उत्तरी सीमानाका मुस्ताङको कोरलाबाट गैरकानुनी रूपमा नेपाल भित्र्याइएका ठुलो परिमाणका विद्युतीय सवारी साधन (ईभी) सशस्त्र प्रहरीको नियन्त्रणमा परेका छन् । भन्सार छली गरी बजार पुर्याउन लागिएको आशंकामा सशस्त्र प्रहरी बल नेपालले गए राती विशेष अप्रेशन सञ्चालन गरी ७ सय ७५ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) बिष्णु प्रसाद भट्टका अनुसार मुस्ताङ, पर्वत र कास्कीका विभिन्न खण्डबाट ती गाडीहरू बरामद गरिएका हुन् । राजश्व छल्ने उद्देश्यले रातको समयमा गाडीहरू लुकिछिपी गन्तव्यतर्फ लैजाँदै गरेको विशेष सूचनाका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
चार जिल्लाका गण र गुल्म परिचालन
ठुलो संख्यामा रहेका गाडीहरूलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चारवटा जिल्लाका सुरक्षा फौजलाई एकैपटक मैदानमा उतारेको थियो । विशेष सुरक्षा रणनीतिअनुसार मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जा क्षेत्रमा घेराबन्दी गरेर गाडीहरू रोकिउका थिए ।
अप्रेशनका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत र नं. २४ कालिका गण कास्कीबाट ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको मुख्यालयले जनाएको छ ।
नुवाकोटमा पनि दुई गाडी बरामद
यसैगरी, नुवाकोटको पासाङल्हामु सडकखण्डबाट समेत भन्सार छलेर ल्याइएका थप २ वटा गाडी नियन्त्रणमा लिइएको छ । चीनकै अर्को नाका रसुवागढी हुँदै पासाङल्हामु मार्ग भएर राजधानीतर्फ आउँदै गरेका ती गाडीहरूलाई पनि शङ्कास्पद अवस्थामा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।
राजश्व चुहावटमा सुक्ष्म अनुसन्धान सुरु
बजेट वक्तव्यको आसपासमा भन्सार महसुलको दर फेरबदल हुने मौका छोपी व्यवसायीहरूले ठुलो मात्रामा राजश्व छली गर्ने मनसायले यी गाडीहरू भित्र्याएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । भन्सार प्रक्रिया र कागजात विना नै यति ठुलो परिमाणमा गाडीहरू कसरी मुख्य सडक सुधमुध आइपुगे भन्ने विषयमा सुरक्षा निकायले गम्भीर चासो देखाएको छ ।
नियन्त्रणमा लिइएका सबै ७ सय ७५ वटा विद्युतीय गाडीहरूलाई आवश्यक कानुनी कारबाही, भन्सार जाँचबुझ र थप अनुसन्धानका लागि आजै सम्बन्धित राजश्व कार्यालय तथा भन्सार विभागको जिम्मा लगाइने प्रवक्ता भट्टले जानकारी दिनुभयो ।