धनगढी, १९ जेठ । डडेलधुरामा शुक्रबारदेखि बेपत्ता रहेको सशस्त्र प्रहरी जवानसहितका दुई जना मृत अवस्था फेला परेका छन् । सशस्त्र प्रहरीको बीओपी परिगाउँमा कार्यरत जवान ओमप्रकाश पुन मगर र परशुराम नगरपालिका–५ का स्थानीय तीर्थबहादुर थापा मगर सोमबार बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी बरुणबहादुर सिंहले दुवै जनाको शव महाकाली नदीमा फेला परेको पुष्टि गर्नुभएको हो।
उनकाअनुसार तीर्थबहादुरको शव परशुराम नगरपालिका–५ स्थित महाकाली नदीको कल्पठ्ठेमा भेटिएको हो भने सशस्त्रका जवान पुन मगरको शव कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा भारततर्फको महाकाली नदी किनारमै भेटिएको हो ।
डीएसपी सिंहले डडेलधुरातर्फ फेला परेका थापामगरको शव परीक्षणका लागि जोगबुढा अस्पतालमा राखिएको छ । बीओपी परिगाउँमा कार्यरत जवान पुनमगरको शव महाकाली नदी किनारमै भारतीय भूमीमा भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिनोद थापाले भारतीय भूमीमा मृत भेटिएका कारण पुनमगरको शव भारतीय प्रहरीले घटनास्थल कार्य सकेर उतैतिर लगेको जानकारी दिनुभयो ।
अब भारतीय प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर परिवारलाई शव जिम्मा लगाउनेछन् । घटनाबारे आवश्यक अनुसन्धान थालिएको छ ।