एजेन्सी, ३ जेठ २०८३ । विश्व स्वास्थ्य संगठनले कंगो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
कुनै स्वीकृत खोप वा उपचार नभएको एक दुर्लभ प्रजाति पहिचान गरिएको भन्दै संगठनले सो भाइरस व्यापक रूपमा फैलिरहेको हुन सक्ने चेतावनी दिएको छ ।
बुन्दिबुग्यो इबोला भाइरसका कारण फैलिएको यो प्रकोपले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरू अन्तर्गत उच्च सतर्कताको तह पार गरेको संगठनले आइतबार जनाएको छ। सीमापार संक्रमण, कारण खुल्न नसकेका सामूहिक मृत्युका घटनाहरू र महामारीको आकारबारे व्याप्त ठूलो अनिश्चितताका कारण यो कदम चालिएको हो ।
यो घोषणा युगान्डाको राजधानी काम्पाला र कंगोको करिब २ करोड जनसंख्या भएको विशाल राजधानी किन्शासामा इबोलाका संक्रमितहरू पुष्टि भएपछि गरिएको हो। यसले भाइरस सुरुमा पहिचान गरिएको दुर्गम खानी क्षेत्रभन्दा बाहिर फैलिसकेको पुष्टि गर्दछ ।
ुयो घटनालाई असाधारण मानिएको छ,ु डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले घोषणामा भन्नभएको छ । उहाँले बुन्दिबुग्यो(विशिष्ट स्वीकृत खोप वा उपचारको अभाव, पूर्वी कंगोमा जारी असुरक्षा र प्रकोप आधिकारिक गणनाभन्दा धेरै ठूलो हुन सक्ने प्रमाणहरूलाई यसको कारणका रूपमा उल्लेख गर्नुभएको छ ।
अफ्रिका सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार, मे १६ सम्ममा कंगोको इटुरी प्रान्तमा प्रयोगशालाबाट प्रमाणित ८ वटा, शंकास्पद ३३६ वटा संक्रमण र ८७ वटा शंकास्पद मृत्युका घटनाका विवरणहरू आएका छन् । युगान्डाले कंगोबाट आएका यात्रुहरूमध्ये काम्पालामा एक मृत्युसहित दुईवटा संक्रमणको पुष्टि गरेको छ।