गोरखा, १ जेठ : गोरखाको अजिरकोट गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गामा अवैध रूपमा निर्माण गरिएका घर, टहरा र अन्य संरचनाहरू हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय, भच्चेकले एक आधिकारीक सूचना प्रकाशित गर्दै अतिक्रमण गरिएका जग्गाहरू खाली गर्न निर्देशन दिएको हो।
गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाद्वारा हस्ताक्षरित सूचना अनुसार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ९२० बमोजिम यो कदम चालिएको हो। अजिरकोट गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०८३ साल वैशाख ३१ गते बसेको बैठकको निर्णय अनुसार यो सार्वजनिक सूचना जारी गरिएको जनाइएको छ।
उक्त सूचनामा अजिरकोट गाउँपालिका अन्तर्गतका सरकारी तथा सार्वजनिक जग्गामा कसैले घर, टहरा निर्माण गरी वा जग्गाको अतिक्रमण गरी अवैध रूपमा भोगचलन गरिरहेको भए, यो सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र त्यस्ता संरचनाहरू अनिवार्य रूपमा हटाउनुपर्ने उल्लेख छ। तोकिएको समयसीमा भित्र अवैध संरचनाहरू नहटाएमा कानुन बमोजिम हटाइने र सार्वजनिक जग्गा संरक्षण गरिने गाउँपालिकाले स्पष्ट पारेको छ।