अस्मिता सिंखडा
गोरखा, २९ बैशाख । गोरखाको गोरखनाथ गुफामा भएको २३ औं सवालाख रोट महोत्सव सम्पन्न भएको छ । सिद्वाश्रम शक्ति केन्द्रको आयोजनामा यही बैशाख १८ गतेदेखी २८ गतेसम्म रोट महोत्सव सञ्चालनमा आएको थियो ।
११ दिनसम्म चलेको महोत्सवमा गुरु गोरखानाथलाई १ लाख ४९ हजार ९१५ वटा ताईरोट अर्पण गरिएको केन्द्रका रामजी अर्यालले जानकाी दिनुभयो ।
केन्द्रले आध्यात्मिक जागरण एवं विश्व कल्याणका लागि भन्दै गुरु गोरखनाथलाई बिक्रम सम्बत २०६१ सालदेखी रोट महोत्सवको आयोजना गर्दै आएको छ ।
महोत्सव अवधिभर स्वदेशका अधिकांश जिल्लाबाट मानिसहरु सहभागी हुनुकासाथै छिमेकी भारत र अन्य देशहरुबाट पनि श्रद्वालु भक्तजनहरुको सहभागीता रहेको थियो ।
गोरखनाथ गुफामा पटक भातरको गोरखपुरका साथै बृन्दावन र आसामबाट पनि महोत्सवमा सहभागीता भएको थियो । यो पटकको महोत्सवमा तराई क्षेत्रको मैथली समुदायले सक्रिय सहभागिता जनाउदै भजनहरु समेत प्रस्तुत गरेका थिए ।
महोत्सव अवधिभरमा ३० लाख रुपैयाँभन्दा बढी खर्च भएको अनुमान पनि केन्द्रले जनाएको छ ।
रोट के हो ?
रोट चालम, गहुँ र जौको पिठोमा मसलाहरु मिसाएर बनाएको एक बिशेष परिकार रोट हो ।
चालम, गहुँ र जौलाई शुद्व मानी ३२ थरिका मसलाहरु जस्तै नरिवल, काजु, किसमिस, अलौंची, ल्वाङ, सुकुमेल, छोकडा, मरिच, दालचिनी, खुदो, मह, घिउ, चिनी जस्ता मसलाहरु हालेर विशेष बिधिद्वारा बनाईन्छ ।
रोट २ प्रकारको हुने गर्दछ । भुङ्ग्रे र ताई रोट । गोलाकार आकृतीको पिठोको मिश्रणलाई पातमा राखेर आगो को भुङ्ग्रो पकाईनेलाई भुङ्ग्रे रोट भनिन्छ । यस्तो रोट सानादेखी ठुला आकारमा पनी तयार गरिन्छ ।
दोस्रो भनेको ताई रोट हो । यो प्रकारको रोटलाई घिउमा तारेर बनाईन्छ । पिठोमा विभिन्न थरीका मसलाहरु हालेर विशेष आकृती अर्थात पृथ्वीको आकारमा सानो सानो गोलाकार बनाएर बनाउने गरिन्छ ।
यसको बिच भागमा नाभी अर्थात ओमकार राख्ने चलन छ । यसरी विशेष विधिका साथ रोटको बिचमा बनाइएको नाभिलाई ‘शिवलिङ्ग’ पनि भनिन्छ । यस्तो नाभी भुङ्ग्रे रोटमा पनी बनाइने प्रचलन छ । भुङ्ग्रे रोटमा बनाइएको नाभीलाई भने ‘सुमेरु’ भन्ने गरिन्छ ।
नाथ संप्रदायका मानिसहरुले बनाउने रोटमा त्यस्तो आकृती दिदा भने विशेष मन्त्र उच्चारण गनुपर्ने हुन्छ । गुरु गोरखानाथलाई रोट चढाउदा पनी विशेष रोट पूजा गरी मन्त्र सहित रोटको बिचको भाग काटेर चढाइने गर्दछ । स्वादमा अनि नै उत्कृष्ट मानिने यस प्रकारको रोट, रोट महोत्सवमा सबैको आकर्षणको बिषय हुने गरेको छ ।