काठमाडौं, २० वैशाख । रास्वपा सभापति रवि लामिछानेले सरकारी जग्गामा बनेका अनधिकृत संरचना हटाउने क्रममा कुनै पनि नागरिकलाई घरबारविहीन बन्न नदिने बताउनुभएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिने क्रममा सभापति लामिछानेले जनतालाई आतंकित पार्ने काम केन्द्र सरकारबाट नभएको समेत दाबी गर्नुभयो ।
‘अव्यवस्थित बसोबास, भूमिहीन सुकुमवासीको हकमा शक्तिशाली प्राधिकरण या आयोग बनेर त्यसले गरेको निर्णय कार्यान्वयन हुन्छ,’ लामिछानेले भने, ‘तर, खतरापूर्ण ठाउँमा, नदी किनारमा, पहिरो आउने, बाढीले बगाउने ठाउँमा बसेका नागरिकहरूलाई जतिसक्दो चाँडो स्थानान्तरण गर्नुपर्ने हुन्छ । त्यसो हुँदा उहाँहरूलाई घरबारविहीन बनाइने छैन । यो रास्वपाको, यो सरकारको निर्णय हो ।’
उहाँले असुरक्षित भएका बसोबासलाई तत्काल सम्बोधन भएको भन्दै काठमाडौंको जस्तै देशैभर सूचना जारी भएको बताउनुभयो ।