गोरखा, २६ चैत – प्रदेश अस्पताल गोरखाले आफ्नो ५३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरुमार्फत मंगलबार भव्य रूपमा मनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालको अध्यक्षतामा सम्पन्न मुख्य कार्यक्रममा गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधी बसौलाको प्रमुख अतिथ्यतामा अस्पतालको बार्षिकत्सव मनाइएको हो । कार्यक्रममा अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. शम्भु अधिकारिले संस्थागत प्रगति, सेवा विस्तार र चुनौतीहरूबारे विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

उहाँले विगत वर्षमा ओपीडी, आपतकालीन सेवा र विशेषज्ञ सेवामा भएको उल्लेखनीय वृद्धिलाई जोड दिँदै आगामी योजनाहरुको बारेमा सहभागीहरुलाई जानकारी प्रदान गर्नुभएको अस्पतालले जनाएको छ । कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य ऋषि राम खत्री र विद्या मास्के तथा प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य अधिकृत नवराज खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वक्ताहरुले अस्पतालको सेवा विस्तारले ग्रामीण स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावको चर्चा गर्दै थप सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । सोही अवसरमा अस्पताललाई विभिन्न समयमा सहयोग पु¥याउने सिम्रन क्रसर उद्योग, गोर्खाली बचत तथा ऋण सहकारी संस्था र शहीद लखन गाउँपालिका–७ का सोम बहादुर गुरुङलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ । यो सम्मानले समुदाय र संस्थाबीचको साझा साझेदारीलाई थप सुदृढ बनाएको अस्पताल प्रसासनका गणेश शिलवालले जानकारी दिनुभयो ।
वार्षिकोत्सवकै अवसरमा आयोजित रक्तदान कार्यक्रममा १० जना रक्तदान गरेको थिए । त्यसैगरी, बार्षिकत्सवको असरमा पारेर अस्पतालको प्रयोगशाला थप गरिएको छ । जसअन्तर्गत एन्टी टीपीओ, बीटा–एचसीजी, टोटल पीएसए (टी.पीएसए), सीए १२५ र एान्टी सीसीपी गरी ५ वटा नयाँ जाँच सेवाको थप गरि सेवा सुरु गरेको अस्पताले जनाएको छ । स्थानीय समुदायको सहभागिता र सरकारी सहयोगले अस्पतालको सेवा क्षेत्र निरन्तर फराकिलो हुँदै गएको छ ।