गोरखा, २६ फागुन : इरान आक्रमणमा युएईमा ज्यान गुमाउनु भएका गोरखाको भीमसेन थापा गाउँपालिका–७, बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको सम्झनामा मंगलबार साँझ ठाँटीबजारमा दीप प्रज्वलन गरिएको छ । गण्डकी युवा क्लबको आयोजनामा आयोजनामा गाउँभरीमा मानिसहरु भेला भएर श्रेष्ठको सम्झनामा दीप प्रज्वलन गरिएको स्थानीय विपिन श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँको मिलनसार युवाको निधनले स्तव्ध बनेको बोर्लाङ गाउँमा उहाँको १० औँ दिनको पुण्यतिथिको सन्दर्भ पारेर दीप प्रज्वलन गरिएको हो । कार्यक्रममा भीमसेन थापा गाउँपालिकाकी उपाध्यक्ष अमृतादेवी वस्ती (भट्ट), वडा नं ७ का वडाध्यक्ष नारायण श्रेष्ठ, समाजसेवी बुद्धि श्रेष्ठ, अमरबहादुर श्रेष्ठ, स्थानीय युवाहरु लगायत झण्डै १ सय जनाको सहभागिता रहेको थियो ।
त्यस्तै क्लबका पदाधिकारी तथा सदस्य एवं गाउँका युवा तथा समाजसेवीहरु मृतकको घरमा पुगेर परिवारमा समवेदना प्रकट गरेको उहाँले बताउनुभयो । मंगलबार नै गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलगायतको टोली बोर्लाङ पुगेर मृतक श्रेष्ठको परिवारलाई भेटर सान्तव्नासहित मृतक प्रति श्रदान्जली तथा परिवारप्रति समवेदना व्यक्त गरेका थिए ।
२९ बर्षका श्रेष्ठको अबुधावीस्थित जायद अन्तराष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा परि फागुन १७ गते मृत्यु भएको थियो । अबुधाबीमा रहेको मिडिल इष्ट कम्पनीमा सुरक्षा गार्डका रुपमा कार्यरत श्रेष्ठ तीनबर्ष अघि बैदेशिक रोजगारीमा जानु भएको थियो ।
असोजमा नेपाल आएर उहाँ पुनः दुवई फर्कनु भएको थियो । मृतक श्रेष्ठको बुवा, आमा र एक दिदी छन् । श्रेष्ठको शव शनिबार नेपाल ल्याएर पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको थियो ।