Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

मुस्लिम समुदायको एक महिने रमजान पर्व सुरु


805
Shares

मुस्लिम समुदायको एक महिने रमजान पर्व सुरु

नेपालगन्ज, ७ फागुन । एक महिनासम्म उपवास बसेर विविध कार्यक्रमका साथ मनाइने मुस्लिम समुदायको महान पर्व रमजान विहिवारबाट बाँकेमा पनि सुरु भएको छ ।

बुधवार मध्यरातमा नेपालगन्जको जामा मस्जिदबाट मुख्य धर्मगुरु मौलाना मुफ्ती जाफर रजाले रमजानको चन्द्रमा देखिएको घोषणा गरेसँगै विहिवारबाट रमजानको महिना शुरु भएको हो ।

मुफ्ती रजाले रमजानको चन्द्रमा देखिएकोले विहिवारबाट एक महिनासम्म रोजा बसेर विवधि धार्मिक तथा सामाजिक कार्य गर्न मुस्लिम सुमदायलाई आग्रह गर्नुभयो ।

एक महिनासम्म मनाइने रमजान इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पवित्र महिना हो । बुधबारबाटै तरावी नमाज बाँकेका सबै मस्जिदहरुमा शुरु गरिएको जामामस्जिद सञ्चालक समितिले जनाएको छ ।

रमजान सुरु भएको अवसरमा जिल्लाका विभिन्न संघसंस्था तथा स्थानीय सरकारका प्रमुखहरुले शुभकामना दिनुभएको छ । सो क्रममा दारुल उलुम बरकातियाका संस्थापक तथा धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले इस्लाम धर्मावलम्बीहरूको रमजान पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै आपसी सहिष्णुता, आत्मियता, धार्मिक तथा सांस्कृतिक सद्भाव र भातृत्वलाई प्रवद्र्धन गर्न आग्रह गर्नुभयो ।

यसैगरी, नरैनापुर र जानकी गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र छब्बन खाँले पनि शुभकामना सन्देश जारी गर्दै नेपालको संविधानले सबै धर्म, संस्कृति, भाषा र सम्प्रदायको समान अस्तित्व स्वीकार गरेकोले रमजान पर्वले नेपालको धार्मिक विविधतालाई अझ मजबुत बनाउने बताउनुभएको छ ।

धर्मगुरु मन्जरीका अनुसार मुस्लिम समुदायको पाँच अनिवार्य धार्मिक कार्यहरुमा कलमा, रोजा, नमाज, हज, र जकात हुन् । ती मध्ये रोजा पनि भएकोले यसलाई अत्याधिक महत्वका साथ मनाइने गरिएको छ ।

उहाँका अनुसार घाम उदाउनुभन्दा डेढ घण्टाअगावै सेहरी खानेकुरा खाएर प्रारम्भ गरिने रोजा घाम अस्ताएपछि फलफूल तथा मिठाइ खाएर समाप्त गरिन्छ । यो समयलाई रोजा खोल्ने समय भनिन्छ । दिनभर पानी लगायत केही पनि खान नहुने यो पर्वमा मुस्लिमले आ–आफ्नो गच्छे अनुसार विभिन्न किसिमका परिकार बनाई रोजा खोल्ने गर्छन् । यो महिनामानै मुस्लिम समुदायले सबैभन्दा बढी दान गर्ने गर्छन् भने रोजा खोल्ने सामुहिक कार्यक्रमहरु पनि ठाउँ ठाउँमा महिनाभरिनै राख्ने गरिन्छ ।

मुस्लिम अगुवा शकील अहमद जसगढले ३० दिनको उपवास पूरा गरेपछि मनाइने चाड ईदका दिन पुरूषहरू इदगाहमा र महिलाहरू घरमै सामूहिकरूपमा नमाज पढ्न जाने र अन्त्यमा एक आपसमा अँगालो मारेर इर्द मुवारक भन्दै शुभकामना र बधाई साटासाट गर्ने बताउनुभयो । उहाँका अनुसार ईदमा नयाँ नयाँ लुगा लगाउनुका साथै मिठो मिठो परिकार समेत खाने र वितरण गर्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology