गोरखा, ४ फागुन । गोरखा नगरपालिका–६, हटियाथोकस्थित सडक किनारामा घाइते तथा अचेत अवस्थामा फेला परेका एक अज्ञात पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार शनिबार साँझ करिब ७ः १५ बजेको समयमा नियमित गस्तीमा खटिएको प्रहरी टोलीले उक्त व्यक्तिलाई बाटोमा लडिरहेको अवस्थामा फेला पारेको थियो ।
प्रहरीका अनुसार करिब ३५ वर्ष जतिको देखिने ती पुरुष व्यक्तिको टाउकोमा गम्भीर चोट लागेको थियो र उनी अचेत अवस्थामा थिए । तत्कालै उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको थियो । प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई भरतपुर अस्पताल, चितवन रिफर गरिएको गरिएको थियो ।
उनको उपचारकै क्रममा आइतबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान हालसम्म खुलेको छैन। प्रहरीका अनुसार मृतकको वर्ण गहुँगोरो, उचाई करिब ५ फिट ४ इन्च, अनुहार मंगोलियन प्रकारको रहेको छ । घटनाका बेला उनले हरियो रंगको हुड भएको ज्याकेट, कालो टि–सर्ट र कालो पाइन्ट लगाएका थिए ।
उनी ज्यामी मजदुरी पेशा गर्ने व्यक्ति जस्तो देखिएको प्रहरीको भनाइ छ । प्रारम्भिक बुझाइअनुसार मृतक लमजुङ जिल्लाबाट मजदुरी गर्न गोरखा आएको हुनसक्ने अनुमान गरिएको छ ।
हाल मृतकको शव भरतपुर अस्पताल, चितवनको शवगृहमा सुरक्षित राखिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले उक्त हुलिया तथा सार्वजनिक गरिएको फोटोमा देखिएको व्यक्ति आ–आफ्नो वडा क्षेत्रको बासिन्दा वा आफन्त नातागोता पर्ने भएमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।