Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

तनहुँमा एकैदिन तीनजनाको शव फेला, हत्याको आंशकामा कुकुरसहित टोली घटनास्थलमा


1.2K
Shares

तनहुँमा एकैदिन तीनजनाको शव फेला, हत्याको आंशकामा कुकुरसहित टोली घटनास्थलमा

गोरखा, २६ पुस । तनहुँको शुक्लागण्डकी नगरपालिकामा आज एकैदिन दुई पुरुष र एक महिलाको शव फेला परेको छ । प्रहरीले शुक्लागण्डकी–५ कसेरीस्थित शुक्लागण्डकी नगरपालिकाको फोहोरमैला प्रशोधन केन्द्रमा दुई पुरुषको शव फेला परेको जनाएको छ भने अर्को एक महिलाको शव जनकल्याण माध्यमिक विद्यालयको तलपट्टी जंगल क्षेत्रमा भेटिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिनुभएको छ ।

फोहोरमैला प्रशोधन केन्द्रमा भेटिएका मृतकमध्ये शुक्लागण्डकी नगरपालिका–११ राइपुरका नारायण विकको पहिचान खुलेको छ। तर, सोही स्थानमा भेटिएका अर्को एक पुरुष र जनकल्याण मावि तलपट्टी जंगलमा भेटिएकी महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीनै जनाको शरीरमा चोट देखिएकाले घटनालाई शङ्कास्पद मान्दै हत्याको आशङ्का गरिएको छ। शवहरू सेती नदी किनार क्षेत्रमा फेला परेका बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतकमध्ये एक जना सोही फोहोर प्रशोधन केन्द्रमा कार्यरत सुरक्षा गार्ड हुनुहुन्छ। उहाँ प्रायः केन्द्रभित्रै बस्ने गरेको भए पनि शव बाहिर फेला पर्नुले घटनालाई थप रहस्यमय बनाएको प्रहरीले जनाएको छ । अन्य दुई जना खोला किनारतर्फ फोहोर डिपो नजिकै बस्दै आएका व्यक्ति भएको विवरण आएको छ, यद्यपि मृतकसँग परिचय खुल्ने कागजपत्र नभएकाले प्रहरीले आधिकारिक पुष्टि गर्न बाँकी रहेको प्रहरीको भनाई छ ।

घटनाको प्रकृति गम्भीर देखिएपछि जिल्ला प्रहरी कार्यालय तनहुँका एसपीसहितको टोली, गण्डकी प्रदेशको प्राविधिक टोली र तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology