गोरखा, १८ पुस । नेपालको प्रमुख पर्यटकीय पदमार्गको रुपमा रहेको मनास्लु क्षेत्रमा सन् २०२५ मा अहिलेसम्मकै सर्वाधिक विदेशी पर्यटक घुम्न पुगेको छन् ।
गएको एक बर्षको अवधीमा १४ हजार ९८० जना पर्यटक जना पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।
‘‘विगतका बर्षका तुलनामा पछिल्ला बर्षमा मनास्लु घुम्न जाने पर्यटकको संख्या बढ्दै गएको छ, उहाँले भन्नुभयो, ‘‘मनास्लु पदमार्ग पर्यटकको रोजाइमा पर्न थालेसंगै पर्यटकको संख्यामा बृद्धि हुन थालेको हो ।’’ मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार ६०५ जना विदेशी पर्यटक घुम्न पुगेका थिए । गएको बर्षको तुलनामा यस बर्ष ४ हजार ३७५ जना बढी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् । यो बर्ष मनास्लु क्षेत्र घुम्न पुगेका पर्यटकमध्ये ८ हजार १८४ जना पुरुष र ६ हजार ५५४ जना महिला रहेका छन् । त्यस्तै अन्य दुई जना विदेशी पर्यटक पनि मनास्लु क्षेत्र घुम्न पुगेको प्रमुख शेरचनले जानकारी दिनुभयो ।
सोही अवधीमा मनास्लु भ्रमणमा पुगेका मध्ये ३ सय ४४ जना सार्क राष्ट्रका नागरिक रहेको उहाँले बताउनुभयो । त्यस्तै यसबर्ष २ सय ४० जना नेपाली पर्यटकहरु पनि मनास्लु क्षेत्र घुम्न पुगेका छन् ।
मनास्लु क्षेत्रमा स्न २०२३ मा ९ हजार ११७ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए भने स्न २०२२ मा ६ हजार १०२ जना विदेशी पर्यटकले भ्रमण गरेको प्रमुख शेरचनले जानकारी दिनुभयो ।
मनास्लु पदमार्गमा घुम्न पुग्ने पर्यटकहरुले चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित श्रृङ्गी हिमाल, राजेन गुम्बाको दृष्यावलोकन गर्न पाउछन् भने नुब्री भ्याली तर्फ कल्छुन (काल) ताल, विश्वको आठौँ अग्लो हिमान मनास्लु हिमाल तथा विरेन्द्र तालको हेर्दै लार्केपास पुग्नसक्छन् ।
मनास्लु क्षेत्रमा हिम चितुवा, नाउर, घोरल, डाँफे, मुनाल र चौरीसंगको सामिप्यतासंग पर्यटक रमाउने गर्दछन् । निषेधित क्षेत्रको रुपमा रहेको मनास्लु क्षेत्र स्न १९९५ देखि पर्यटका लागि खुल्ला गरिएको हो ।.