गोरखा, १७ पुस । गोरखा अत्याधिक चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । गोरखा सदरमुकामसहित आसपासका क्षेत्र दुई दिनयता बढेको चिसो र कुहिरोले जनजीवन प्रभावित बनेको हो ।
अत्याधिक चिसोका कारण मानिसहरुलाई घरबाहिर निस्कन समेत कठिनाइ भएको स्थानीयवासीहरुले बताएका छन् । दुई दिनयता घाम नलागेपछि दिनभरि नै जाडो मौसम थप बढेको छ ।
दिउँसो पनि बाक्लो कुहिरोले बजार क्षेत्र ढोकेको छ । कुहिरोका शित लहरका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ भने सर्वसाधारण विद्यार्थी, वृद्धवृद्धा र मजदुर वर्ग प्रभावित भएका छन् ।
स्थानीय स्तरमा सामान्य रूपमा अनुभव गरिने जाडो भन्दा यसपालिको चिसो असाध्यै बढेको स्थानीयबासीहरुको भनाई छ । गोरखा नगरपालिका–९ का बासिन्द समेत रहनु भएका जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापाले टक्सार क्षेत्रमा पहिलोपटक शितलहरको अनुभव गरेको बताउनुभयो ।
गोरखा बजार क्षेत्रमा बिहान–बेलुका मात्रै होइन, दिनको मध्यान्हतिर पनि चिसो लगभग उस्तै रहने, कुहिरो नहट्दा ‘दिउँसै रात परेको जस्तो भएको छ ।
अत्याधिक चिसोका कारण दैनिक ज्याला–मजदुरी गरेर गुजारा चलाउने बर्गमा मानिस बढी समस्यामा छन् । अत्याधिक चिसोको समयमा बालबालिका, दीर्घरोगी र वृद्धवृद्धालाई चिसोबाट सुरक्षित गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।