गोरखा, १५ पुस ः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश परिवर्तनको दिशामा अघि बढिरहेको बताउनु भएको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय अन्र्तगत हुलाक सेवा विभागको आयोजनामा हिजो गोरखा हुलाक कार्यालयलाई ‘स्मार्ट हुलाक’ घोषणा तथा शुभारम्भ गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले देशले विकास र सम्बृद्धि खोजीरहेको बताउनुभयो ।
‘‘सवैमा भावनात्मक एकता र परिवर्तनको सोचसहित विकास र समृद्धिको बाटोमा देशलाई अघि बढाउनुपर्नेछ, मन्त्री खरेलले भन्नुभयो, ‘‘अव हरेक नेपालीमा एकता र परिवर्तनको भावना जाग्नुपर्छ, मुलुकले अहिले परिवर्तन खोजीरहेको छ ।’’ उहाँले अगामी फागुन २१ गते चुनाव हुन्छ की हुँदैन भन्ने बहसको अन्त्य भइसकेको भन्दै तोकिकै समयमा शान्तिपूर्ण र भयरहित निर्वाचन सम्पन्न हुने बताउनुभयो ।
‘‘चुनाव हुन्छ कि हुँदैन भन्ने बहस पनि अव अन्त्य भइसकेको छ, उहाँले भन्नुभयो, ‘‘आगामी निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नेगरि सवैले भाग लिने वातवारण बनाउनुपर्छ ।’’ उहाँले सुरक्षाकर्मीको मनोवल कमजोर रहेको भन्ने प्रश्न यदाकदा उठ्ने गरेको भन्दै नेपालका निकायले अहिलेको भन्दा जटिल परिस्थितिमा पनि आफ्नो जिम्मेवारी सहज ढंगबाट पुरा गर्दै आएको स्मरण गराउनुभयो ।
मन्त्री खरेलले गोरखा हुलाक कार्यालयलाई ‘स्मार्ट हुलाक’ घोषणा गरेसंगै अव नेपालको हुलाक सेवा ‘स्मार्ट’ कार्यको शुभारम्भ भएको उल्लेख गर्नुभयो । ‘‘हुलाकले बर्षौदेखि सम्पर्क र सम्बन्ध जोड्ने पुलको काम गर्दै आएको छ, उहाँले भन्नुभयो, ‘‘अव यसलाई आधुनिक र स्मार्ट हुलाक बनाउने तिर सरकारले ध्यान दिएको छ ।’’ मन्त्री खरेलले नीतिगत स्पस्टता र व्यवस्थापनसहित काम गर्न सके अवको ५ बर्ष भित्रमा हुलाकलाई राज्यको ठूलो राजस्व आम्दानी गर्ने कार्यालयको रुपमा विकास गर्न सकिने स्पस्ट पार्नुभयो ।
विदेशमा रहेका करिब ८० लाख गैह्रआवासीय नेपालीलाई लक्षित सेवा दिन सके हुलाक सेवा आत्मनिर्भर मात्र नभई आम्दानीमुखी पनि बन्नसक्ने उहाँको भनाइ छ । पाँच वर्षभित्र हुलाकलाई व्यवसायिक निकायका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताउँदै मन्त्री खरेलले “कर्मचारीहरु पनि सरुवा भएर हुलाक जान पाए हुन्थ्यो” भन्ने अवस्था सिर्जना गर्नुपर्ने उल्लेख गर्नुभयो ।
देशभरका हुलाक कार्यालयहरुलाई आधुनिक प्रविधिसँग जोडेर ‘स्मार्ट हुलाक’ मा रूपान्तरण गर्न सरकार प्रतिवद्ध रहेर लागेको उहाँको भनाई छ । “आज गरिएको शुभारम्भ भोलिको हुलाकको भविष्य निर्माणको पहिलो पाइला हो,” उहाँले भन्नुभयो, ‘‘नीति मात्र होइन, सोचमै परिवर्तन आवश्यक छ, अव वस्तु तथा सेवाम पनि जोड दिनुपर्छ ।’