काठमाण्डौ १४, बैशाख । पटक पटक पार्टीको निर्णय बिपरित काम गर्न थालेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहुमत पदाधिकारीले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेको छ । विवादस्पद अध्यादेश जारी गरेपछि ओलीसंग झनै असन्तुष्ट बनेका नेताहरुले ओलीको कार्यशैली प्रति तिब्र आक्रोश व्यक्त गर्दै सरकारबाट नै फिर्ता बोलाउने रणनीतिमा जुटेका हुन् । अध्यादेश फिर्ता गरेपछि प्रधानमन्त्री केपी ओली विरुद्धको मोर्चाबन्दी फराकिलो बन्दै गएको छ ।
ओली इतरका नेताहरुको समुह बलियो बन्दै गएपछि महासचिव विष्णु पौडेलले पनि गुट फेरेका छन् । यही बीचमा प्रधानमन्त्री ओलीले शनिवार अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बामदेव गौतम, र नेता माधव नेपालसंगको छलफलमा बामदेव गौतमले ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा मागेका छन् । तर ओलीले भने आफु विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् । ओलीले आफु विरुद्धको मोर्चाबन्दी बलियो बन्दै गएपछि रणनीति बनाउनका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई काठमाडौं बोलाएर जिम्मा दिएका छन् ।
ओली विरुद्धमा रहेका नेताहरु भने ओलीलाइ तत्तकाल स्थायी समितिको बैठक बोलाउन बाध्य बनाउने र ओलीले बैठक बोलाउन आनाकानी गरे कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले स्थायी समितिको बैठक बोलाउने रणनीतिमा लागेका छन् । स्रोतका अनुसार, नेकपाको ४५ सदस्यीय स्थायी समितिको बैठक राखेर केपी ओली नेतृत्वको सरकार फाल्ने सहमतिमा दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम समूह पुगेका छन् । नेकपाको ४५ सदस्यीय स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीविरूद्धको पंक्तिमा ३२ जना रहेका छन् । सो समुहमा नेता नेपाललाई प्रधानमन्त्री बनाउने विषयमा सहमति भइसकेको छ । नेपाल नेतृत्वमा सरकारमा सहभागि हुने नेताहरुको लिष्ट समेत तयार भइसकेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा शिक्षा मन्त्री नारायणकाजी श्रेष्ठ, अर्थ मन्त्री सुरेन्द्र पाण्डे, गृह मन्त्री जनार्दन शर्मा, उद्योग मन्त्री सोमनाथ पाण्डे र पर्यटन मन्त्री भीम रावल, भौतिक पूर्वाधारमा टोपबहादुर रायमाझी, कृषिमा धनश्याम भुषाललाई कायम राख्ने, संघीय मामिला र सामान्य प्रशासनमा पम्फा भुषाल, कानुनमा देव गुरुङ, संचारमा बेदुराम भुषाल, सहरी विकासमा देवेन्द्र पौडेल मन्त्री रहनेछन् । अहिलेका भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङको पनि मन्त्री पद कायम रहनेछ । तर मन्त्रालय भने परिवर्तन हुने स्रोतको दाबि छ । त्यसैगरि नेपाल नेतृत्वको सरकारमा केही नयाँ अनुहारलाई मन्त्रीमण्डलमा समावेश गराइनेछ । नयाँ अनुहारमा यज्ञराज सुनुवार, प्रेम आले, विशाल भट्टराई, लगायतका नेताहरु पर्नेछन् ।